भारतसँग भएका असमान सन्धी सम्झौता बारे पोखरामा अन्तरक्रिया


पोखरा,  साउन-
पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा, सुस्ता, कालापानी र अहिलेसम्म भारतसँग भएका असमान सन्धी सम्झौता विषयक वास्तविकता प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले विगतमा भारतसँग भएका केहि सन्धी सम्झौता नेपालको विपक्षमा रहेकाले त्यस्ता सम्झौताहरुको परिमार्जन गरिनु पर्ने र अब गरिने सम्झौताहरु राष्ट्रिय हितलाई ध्यानमा राखेर गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा गोविन्द न्यौपानेले सुस्ता, भुवेश पन्तले कालापानी र जंग बहादुर साउदले अहिले सम्म भएको असमान सन्धी सम्झौताका विषयमा प्रकाश पार्ने भएको थियो ।
पूर्व सहायक क्याम्पस प्रमुख चक्रपाणी उपाध्यायले विद्यार्थीले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै सुस्ता क्षेत्र, कालापानी लगायतका समस्या समाधान कुटनितिक रुपमा गर्नु पर्ने धारणा राख्नु भएको थियो । सुस्ताका बारेमा प्रकाश पार्नु भएका न्यौपानले सुस्ता समस्या सुगौली सन्धी गर्दा त्रिवेणी देखि सागरहिन्दी सम्म २४ किमी नारायणी नदीमा जंगे पिलर नगाडिनु र भारतीय पक्षको दादागिरिले उत्पन्न भएको बताउनु भएको थियो ।
यस्तै भुवेश पन्तले कालापानी समस्या स्थानिय स्तरबाट नभई अन्तर्राष्ट्रिय अदालत सम्म पु¥याइ सुगौली सन्धीको आधारमा कालापानी फिर्ता हुनु पर्ने धारणा राख्नु भएको थियो । जंग बहादुर साउदले सम्पूर्ण सन्धी नेपालको विपक्षमा भएकाले तिनिहरुको खारेज वा परिमार्जन हुनु पर्ने र अब त्यस्तो हुन नहुने बताउनु भयो ।
सन्तोष भट्टराईको अध्यक्षता र क्याम्पस प्रमुख नारायण गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोकुल जोशीले स्वागत मन्तव्य दिनु भएको थियो भने नारायण अधिकारीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
नवलपरासी विद्यार्थी समाज र सुदुरपश्चिम विद्यार्थी समाजको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।