संगम सहकारीको रक्तदान


पोखरा, साउन –
पोखराको रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले राम मन्दिर प्राङ्गणमा गरेको रक्तदानमा ३६ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्तसंचार सेवा पोखराको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रमको शुभारम्भ फेवासिटी अस्पतालका अध्यक्ष चेतबहादुर गुरुङ्गले पहलो रक्तदाता संगम सहकारीका संचालक सदस्य अधिवक्ता दयाराम गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो । सो अवसरमा रक्तदानको महत्वमाथि प्रकाश पार्दै प्रमुख अतिथि गुरुङ्गले एकज ना स्वस्थ मानिसको रगतले अर्को एकजना बिरामी मानिसले पुनर्जीवन प्राप्त गर्ने बताए ।
यसैगरी कार्यक्रम संयोजक तिलक थापाले स्वागत मन्तव्य राख्दै वित्तीय कारोवार गरी सदस्यहरुको आर्थिक स्तर बृद्धि गरिँदै जाँदा समूदायप्रति चासो राख्दै सामाजिक कार्यहरु पनि गरिनु आवश्यक भएकोले मानिसको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताए ।
महिला ७ र पुरुष २९ गरी कुल ३६ जनाले रक्तदान गरेको उक्त कार्यक्रममा पहिलो पटक रक्तदान गर्नेदेखि लिएर ३५ पटकसम्म रक्तदान दिने रक्तदाता पोखरा ४ निवासी पुष्पराज कोइरालासम्मको सहभागिता रहेको थियो ।
वडा प्रहरी कार्यालय रामबजारका प्रमुखमा केहीदिन अघि मात्र सरुवा भई आउनुभएका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई आयोजक संस्था र सम्पूर्ण रामबजारबासीको तर्फबाट कार्यकालको पूर्ण सफलताको कामना गर्दै सहकारीका अध्यक्ष निरज थापाले विशेष स्वागत तथा सम्मान गरेका थिए ।