बूढीगण्डकी स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारको विश्वास


काठमाण्डौ – वार्षिक औसतमा  ३२ अर्ब ५० करोड रुपैयाँ विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ।

मन्त्रिपरिषद्ले सोही विश्वासका आधारमा नै स्वदेशी लगानीमा सो आयोजना निर्माण सुरू गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्रिपरिषद्ले स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने निर्णय गरेको उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले जानकारी दिए।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का अनुसार सो आयोजनाको लागत २६३ अर्ब रुपैयाँ रहेको सन्दर्भमा सरकारले आठ वर्षसम्म क्रमिक रुपमा वार्षिक ३२ अर्ब ५० करोड रुपैयाँ बजेट परियोजनाका लागि छुट्याउनुपर्ने देखिन्छ।

सरकारले आव २०७३/७४ मा प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आवमा सो आयोजनाका लागि १० अर्ब  रुपैयाँ बजेट विनियोजन गरिएको छ।

यस्तै, नेपाल आयल निगमले पूर्वाधार करमार्फत हालसम्म  १३ अर्ब रुपैयाँ रकम जम्मा गरिसकेको छ। भन्सार बिन्दुमा नै पेट्रोलियम पदार्थमा प्रतिलिटर र पाँच कर लगाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बूढीगण्डकी आयोजनाको लागत जुटाउने लक्ष्यका साथ भन्सार बिन्दुमा कर लगाउने निर्णय गरेको थियो । यस्तै, चालू आवको बजेट वक्तव्यमा समेत तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले उक्त कर लगाउने निर्णयलाई निरन्तरता दिएका थिए।

स्वदेशी लगानीमा आयोजना बनाउनका लागि स्रोतको अभाव हुने भन्दै चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारी सरकारले केही दिन पहिले खारेज गरेको थियो ।

सरकारको उक्त निर्णयप्रति वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको थियो ।

फ्रान्सेली कम्पनी ट्याक्टेबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । सो कार्यका लागि करीब दुई अर्ब रुपैयाँ खर्च भएको थियो।

तत्कालीन व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समिति, कृषि तथा जलस्रोत समितिलगायतले बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सरकारलाई निर्देशन दिएको थियो।

तत्कालीन लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले आफूहरूले स्वदेशी लगानीमा नै आयोजना निर्माण गर्ने गरी सरकारलाई निर्देशन दिइएको स्मरण गराए। उनले भने, ‘हामीले विगतमा नै आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका थियौँ । लगानीको प्रक्रिया र विधिका बारेमा समेत निर्णय गर्न भनेका थियौँ।’

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इंले वित्तीय स्रोत जुट्ने गरी आयोजना तत्कालै अगाडि बढाउनुपर्ने बताउँछन्।अध्यक्ष गुरागार्इंले प्राविधिक तथा आर्थिकरुपमा सम्भव हुने गरी अगाडि बढाउनुपर्ने र आमसहमतिमा नै अगाडि बढाउनुपर्नेमा जोड दिन्छन्।

सरकारले आँट गरेर वार्षिकरुपमा ३० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याउन सके स्वदेशी लगानीमा नै आयोजना निर्माण हुन सक्ने उनको भनाइ छ ।

बूढीगण्डकी सरोकार समितिका संयोजक हरेराम ढकालले आयोजना तत्काल निर्माण सुरू हुनुपर्ने र स्थानीयवासीको माग सम्बोधन हुनुपर्ने बताउँछन्।

‘स्थानीयवासीले मुआब्जा पाएका छैनन्, सबै प्रभावित क्षेत्रमा मुआब्जा वितरणको प्रक्रियासमेत सुरू भएको छैन’, उनले भने, ‘मुआब्जा वितरण प्रक्रिया तत्काल अगाडि बढ्नुपर्छ। प्रभावितले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन हुनुपर्छ।’ र

सरकारले धादिङ र गोरखाका साविक २७ गाविस प्रभावित हुने र क्रमशः मुआब्जा वितरण गर्दै जाने बताएको छ । तर धादिङ र गोरखाका तीन/तीन गाविसको मात्रै मुआब्जा वितरण भएको छ । आरुघाट, खहरे, सल्यानटारलगायतका स्थानको हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन ।

सरकारले बूढीगण्डकी आयोजना विकास समिति खारेज गरेर आयोजनालाई ऊर्जा मन्त्रालय मातहत ल्याएपछि मुआब्जा वितरणलगायका काम केही समय प्रभावित भएको थियो । रासस