लुम्ले गाविसको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न


पोखरा, १५ साउन

कास्कीको लुम्ले गाँउ विकास समितिले आर्थिक वर्ष २०७०-०७१ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । लुम्ले गाँउ विकास समितिमा गाविसले दिने सेवा तथा विकास निर्माणका विषयमा केन्द्रित भएर कार्यक्रम गरिएको हो ।

समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय नागरिकले सार्वजनिक जग्गा मिचीएको, एक्यापले गाविससंग समन्वय नगरेको, योजना अनुगमन प्रभावकारी नभएको लगायतका विभिन्न विषयमा सेवाग्राहीले आफ्नो गुनासो राखेका थिए ।

लुम्ले गाविस र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालसंग आवद्ध संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको सहकार्यमा भएको कार्यक्रममा गाँउ विकास समिति लुम्लेमा सचिव हरिप्रसाद अधिकारीले योजना कार्यान्वयन, वजेट वाँडफाँड तथा सेवा प्रवाहका वारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वजेट समीक्षा तथा सार्वजनिक सुनुवाईमा सचिव अधिकारीले विगतमा भएका कमीकमजोरी सुधार्ने तथा वजेट वाँडफाँड र योजना निर्माणमा सुधार गर्दै लैजाने प्रतिवद्धता गर्नुभयो । सचिव अधिकारीले, सीमित स्रोत र साधनको उपयोग गर्दै गाविसका विकास निर्माण गतिविधि संचालन गरिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस लुम्लेका सभापति चित्रवहादुर गुरुङ्ग लेकालीले अवदेखि गाविसको रकम भुक्तानी अनुगमन समितिको प्रतिवेदनका आधारमा मात्रै गरिने प्रतिवद्धता जनाउनुभयो । गाँउ विकास समितिको दीर्घकालिन विकासका लागि तत्काल सुधारका नयाँ कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमाले लुम्लेका अध्यक्ष भरत देवकोटाले गाविस र दलहरुवीच समन्वय नभएको कारण कतिपय काम राम्रो हुन नसकेको वताउनुभयो । उहाँले गाविसका कार्यक्रम पारदर्शी वनाउन विगतका कमजोरी नदोह¥याउने प्रतिवद्धता गर्नुभयो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष चुडामणि देवकोटाले गाविसमा हुने कुनैपनि दुरुपयोग रोक्न आफ्नो पार्टी लाग्ने प्रतिवद्धता पनि गर्नुैभयो । गाविसका कतिपय योजना छनौटमा दलिय सहभागिता खोजिए पनि समन्वय र अनुगमनमा दलिय सहभागिता कम भएको वताउनुभयो ।

राप्रपाका अध्यक्ष ऋषिराम देवकोटाले गाविसको विकास निर्माण प्रक्रिया चुस्त वनाउन स्थानिय निकायको चुनाव अनिवार्य भएको वताउनुभयो ।

सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलले देश सुशासनको वाटोमा नहिडेको कारण विकास निर्माणका कार्यक्रम प्रभावकारी हुन नसकेको वताउनुभयो । उहाँले, लोक कल्याणकारी राज्य निर्माणका लागि हरेक निकाय पारदर्शी र उत्तरदायी हुनुपर्ने धारणा राख्नुभयो ।

लुम्ले गाविसका सचिव हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुनासका कार्यक्रम अधिकृत भानुभक्त पराजुलीले र स्वागत गाविस सहायक नारायण क्षेत्रीले गर्नुभएको थियो ।