प्रेस युनियनको महाधिवेशनको तयारी शुरु गरिने


पोखरा, १६ साउन

नेपाल प्रेस युनियनको पोखरामा हुने आठौ महाधिवेशनको तयारी शुरु गरिने भएको छ।

नेपाल प्रेस युनियनका कार्यबाहक अध्यक्ष बद्रि सिग्देलको उपस्थितिमा पोखरामा विहीबार भएको छलफलपछि महाधिवेशनको तयारी शुरु गर्ने निर्णय भएको प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए।यसअघि असार ४ र ५ गते हुने भनिएको महाधिवेशन तयारीका लागि कम समय भएभन्दै महाधिवेशनको मिति भदौ २१ र २२ का लागि तोकिएको थियो।युनियनका कार्यवाहक अध्यक्ष बद्रि सिग्देलले महाधिवेशनको मिति र स्थान परिवर्तन नहुनेभन्दै ढुक्क भएर तयारीमा जुट्न आग्रह गरे।

महाधिवेशनको मिति पटक÷पटक सार्दा राम्रो सन्देश जादैन उनले भने – त्यसैले केन्द्रीय समिति तोकिएको मितिमा नै महाधिवेशन गर्न प्रतिवद्व छ।नेपाल प्रेस युनियनका उपाध्यक्ष एवं महाधिवेशन स्थानीय व्यवस्थापन समितिका संयोजक गङ्गाधर पराजुलीले महाधिवेशनलाई व्यवस्थित, सभ्य र भव्य बनाउने गरी तयारीमा जुट्ने उल्लेख गरे।नेपाल प्रेस युनियनका पुर्वअध्यक्ष समीरजङ्ग शाहले युनियनलाई बलियो बनाएर शशक्त ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासङ्घका पुर्व केन्द्रीय सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका सल्लाहाकार रवीन्द्र बाँस्तोला, पश्चिमाञ्चल संयोजक रमेश पौडेल, नेपाल पत्रकार महासङ्घ कास्कीका पुर्वउपसभापति राजबहादुर गुरुङ, कास्कीका पुर्वअध्यक्ष हेमराज बरालले महाधिवेशनको तयारीलाई प्रभावकारी ढंगबाट शुरु गरिने बताए।

कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मी र सचिव प्रकाशचन्द्र सापकोटा लगायतले बोलेका थिए।