शिक्षा र समाजसेवी सम्मानित हुदै


पोखरा, १६ साउन-
ममिता गौतम स्मृति प्रतिष्ठान पोखराले शिक्षा र समाजसेवाको क्षेत्रमा योगदान पु¥याएका ४ व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।
प्रतिष्ठानले साउन १७ गते शनिबार पोखरामा कार्यक्रम आयोजना गरि पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख शिक्षासेवी जर्ज जोन र शिक्षा तथा समाजसेवी महेश गुरुङ, दलित आन्दोलनका अगुवा तथा राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पदमसिंह विश्वकर्मा र पूर्व सभासद तथा समाजसेवी कृष्णकुमारी परियारलाई प्रतिष्ठानले सम्मान गर्ने भएको हो ।

प्रतिष्ठानले २०७० को एसएलसि परिक्षामा कास्की जिल्लाबाट उर्तीण हुने दलित समुदायका विद्यार्थीलाई सम्मान, अमरसिंह उमावि कक्षा १२ मा अध्ययनरत २ दलित छात्रा कालिका उमाविका ५ जना दलित, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सम्मान प्रदान गर्नेछन् ।
प्रतिष्ठानका संरक्षक चन्द्रकिशोर गौतम विश्वकर्माले शिक्षा तथा समाजसेवामा प्रोत्साहन मिलोस अनि विद्यार्थीलाई अध्ययनमा सहज होस भनेर सम्मान र छात्रवृत्ति प्रदान गर्न लागेको बताए ।

२०६६ सालदेखि यस्तो किसिमको कार्यक्रम गरिदै आएको बताए ।२०६५ साल कार्तिकमा स्थापित प्रतिष्ठानले शैक्षिक क्षेत्रमा सिर्जनात्मक तथा रचनात्मक क्रियाकलाप गर्दै आएको छ । रामबजार निवासी चन्द्रकिशोर गौतम (विश्वकर्मा)की छोरी ममिताको २०६५ साल असोजमा कक्षा १२ मा अध्ययन गर्दै गर्दा अकस्मात मृत्यु भएपछि परिवारले प्रतिष्ठान गठन गरेर कार्यक्रम गर्दै आएको छ ।
प्रतिष्ठानले अहिलेसम्म २७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । यसअघि शिक्षासेवीहरु रामबहादुर मोची, मणिराज परियार, राम नेपाली, खरीलाल विश्वकर्मा र सागरप्रताप विश्वकर्मा सम्मानित भएका छन् । प्रतिष्ठानले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण पनि गर्ने गरेको छ । करिव ३ लाख रुपैयाको खर्चमा रामघाटमा मलामी विश्राम स्थल पनि निर्माण गरेको छ ।