सात वर्षपछि पोखरामा महको हास्य प्रस्तुती


पोखरा,

चर्चित तथा बरिष्ठ हास्य कलाकार मह जोडि अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्य प्रस्तुती पोखरेली दर्शकले प्रत्यक्ष हेर्न पाउने भएका छन् । टुवोर्ग महजात्रा २०७१ साउन १६ गतेदेखि १९ गते सम्म पोखरा सभागृहमा हुँदैछ । सात वर्षपछि पोखराको रङ्गमंचमा महको प्रस्तुती हुन लागेको हो ।
देशमा देखिएको अस्थीर राजनीति, समाजको बिकृति, विसंगतिलाइ विषय बनाइएको महजात्राको कार्यक्रम २ घण्टा ४५ मिनेट रहेको छ भने साढे पाँच बजेदेखि महजाता सुरुहुनेछ । महजात्राको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा कलाकार मदनकृष्ण श्रेष्ठले महजात्रा, हाम्रो ३४ वर्षको सहकार्यको उपलब्धि भएको बताउनुभयो ।
अर्का कलाकार हरिवशं आचार्यले आफ्नै जीवनमा आएको आरोह÷अवरोह लगायत विविध कारणले आठ वर्षपछि महजात्रा लिएर रङ्गमंचमा आएको बताउनुभयो ।“रङ्गमंचमा कार्यक्रम गर्न प्रविधिले पनि हामीलाइ समस्यामा पारेको छ,”आचार्यले भन्नुभयो,“आधा घण्टाको कार्यक्रम बनाउन पर्दा पछाडी महिनौ तयारी गर्नुपर्दछ, तर, त्यही कार्यक्रमलाई मोवाइल, क्यामराले खिचेर इन्टरनेटमा राखिदिदाँ हाम्रो मेहनत खेर गएका घटना धेरै छन्, पोखरेली दर्शकले हाम्रो अनुरोधलाई सहर्ष स्वीकारेर, क्यामरा, मोवाईलबाट कार्यक्रम खिच्नुहुन्न भन्ने विश्वास हामीले लिएका छौं ।”

उहाँले कार्यक्रम हेर्न आउँदा क्यामरा नल्याउन र सो अवधी भर मोवाइल अफ गरिदिन पनि आग्रह गर्नुभयो । आचार्यले रङ्गमंच हाम्रो ‘आमा’ भएकोले लामो समय रङ्गमंचबाट टाढा रहन नसक्ने भन्दै अव निरन्तर कार्यक्रम गर्ने पनि बताउनुभयो ।

गोर्खा बु्रअरीको टुवोर्ग वियर मुख्य प्रायोजक रहेको महजात्रामा महको साथमा नरेन्द्र कंशाकार, बसुन्धरा भुषाल, राजाराम पौडेल, किरण केसी, शिवहरी पौडेल, दिलिप रायमाझी, मलिका कार्की, हरिवंशका छोरा मोहितबंश र मदनकृष्णका छोरा यमनको पनि प्रस्तुती रहनेछ ।पत्रकार सम्मेलनमा गोर्खा बु्रअरीका मार्केटिङ मेनेजेर रोजन अमात्यले नेपाली कला, संस्कृतिको जर्गेनाको लागि महसंचारसँग टुर्वोगले सहकार्य गर्दै आएको बताउनुभयो ।
साउन १६ र १७ गते हुने कार्यक्रमको स्थानीय व्यवस्थापनको जिम्मेवारी लायन्स क्लव अफ अन्नपूर्ण पोखराले लिएको छ । क्लवका अध्यक्ष यदुनाथ अधिकारीले ७५ प्रतिशत टिकट विक्रि भइसकेको बताउँदै कार्यक्रमबाट बचेको रकम स्याङजाको सिर्सीकोट गाविसमा रहेको प्रगति प्राविलाई हस्तान्तरण गरिने बताउनुभयो । पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले राष्ट्रकै गहना, मह जोडिको प्रस्तुती प्रत्यक्ष हर्ने पाउनु पोखरेलीका लागि राम्रो अवसर भएको बताउँदै यसलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा कलाकार किरण केसीले कार्यक्रमबाट बचेको रकम मध्ये केही विभिन्न सामाजिक कार्यमा खर्च गरिने र कार्यक्रलाई देशका अन्य ठाउँको साथै विदेशमा पनि प्रर्दशन गरिने हुदाँ कार्यक्रमलाइ मोवाईल र क्यामराले नखिच्न आग्रह गर्दै आग्रहलाई अटेर गरी अप्रिय घटना हुन गएमा त्यसको जिम्मेवार स्वयम व्यक्ति नै हुने बताउनुभयो । महजात्रा २०७१ काठमाडौंमा देखाइ सकिएको छ भने कार्यक्रम दर्शकहरुले निकै रुचाएको दावी मुख्य प्रायोजकले गरेको छ ।