सदस्य मनोनयनको विषयको विवादले साग व्यवस्थापन समिति बैठक स्थगित


काठमाण्डौ – सदस्य मनोनयनको विषयलाई लिएर विवाद भएपछि करिब १५ महिनादेखि बस्न नसकेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको बैठक सोही विवादका कारण श¬क्रबार पनि बस्न सकेन। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित उक्त समितिको बैठक शुक्रबार बिहान ११ बजे मन्त्रालयमा बोलाइएको थियो। तर, सातजना सदस्य मनोनयनको विषयलाई लिएर पुनः समस्या देखिएपछि सदस्यहरूलाई शुक्रबार बिहानै ‘प्राविधिक कारण’ ले बैठक स्थगन भएको जानकारी गराइएको थियो।

राजनीतिक आस्थाका आधारमा सदस्य मनोनयनको विषयलाई लिएर साग तयारी समितिको बैठकसम्म बस्न नसकेपछि १३ औं साग निर्धारित समयमै आयोजना हुने विषय थप अन्योलमा परेको छ। राष्ट्रको प्रतिष्ठासँग जोडिएको १३ औं साग आयोजना हुन करिब डेढ वर्ष मात्र बाँकी छ। तयारी समितिमा संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति, राखेपका उपाध्यक्ष, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष, सुरक्षा निकायका प्रमुख, विभिन्न मन्त्रालयका सचिव, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष, नेपाल स्काउटका प्रमुख र होटल संघका प्रतिनिधि सदस्यका रूपमा रहेका छन्।

यसैगरी, युवा तथा खेलकुदमन्त्रीले सम्बन्धित क्षेत्रका सातजना विज्ञलाई पनि समिति सदस्यमा मनोनयन गर्ने प्रावधान छ। सोही प्रावधानका आधारमा एमालेबाट प्रतिनिधित्व गर्ने तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले पर्साका समिम मियाँ अन्सारी, काठमाडौंका सीताराम मास्के, कास्कीका राजीव पहाडी, मनाङका टासी घले, काठमाडौंकी पुष्पा गुरुङ, स्याङ्जाका खड्गबहादुर रानाभाट र सप्तरीका चेतेन्द्रप्रसाद मानन्धरलाई समिति सदस्यमा मनोनयन गरेका थिए।

तर, ०७३ साल साउन २० गते माओवादी केन्द्रका दलजित श्रीपाइली युवा तथा खेलकुदमन्त्री भएर आएपछि मनोनीत सदस्यको विषयलाई लिएर विवाद सुरु भएको र सोही विवादका कारण लामो समयदेखि समितिको बैठक बस्न सकेको थिएन। समितिको बैठक बोलाउँदै मनोनीत सातजना सदस्यलाई पनि बोलाउनुपर्ने भएका कारण बैठक अवरुद्घ हुँदै आएको थियो।

राजनीतिक स्वार्थ र खेल पदाधिकारीको आपसी विवादका कारण १५ महिनादेखि तयारी समितिकै बैठक बस्न नसकेपछि करिब डेढ वर्षपछि आयोजना हुने भनिएको सागको भविष्य नै अन्योलमा परेको छ। ०७२ साल माघ २२ देखि फागुन ४ गतेसम्म भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं साग समापन समारोहमा नेपाललाई १३ औं साग आयोजनाको जिम्मेवारीसहित झन्डा हस्तान्तरण गरिएको थियो।

प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने सागको १३ औं संस्करण नेपालले सन् २०१८ मै आयोजना गनुपर्ने थियो। तर, विभिन्न कारणले निर्धारित समयमा १३ औं साग आयोजना हुन नसक्ने भएपछि सन् २०१६ को डिसेम्बर ३ मा काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले सन् २०१९ को मार्च ९ देखि १८ सम्म गर्ने गरी प्रतियोगिताको मिति परिवर्तन गरेको थियो। १३ औं सागमा २५ वटा खेल समावेश गर्ने निर्णयसमेत भइसकेको छ। तर, पूर्वाधार निर्माणलगायत काम अझै अघि बढ्न सकेका छैनन्।