नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाए


काठमाडौं – मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा–७, तारेगामास्थित नेपाल–भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४/पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् ।

सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार, जनवरीमा नेपाल–भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।

विराटनगरको रानी भन्सारबाट १७ किलोमिटरको दूरीमा पर्छ – तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धेरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसगजा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ । हामी वारिपारिका मिलेर बस्छौं । सुरक्षाकर्मीको जरुरी छैन । को नेपाली र को भारतीय भन्ने भेदभाव हामीबीच छैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।