प्रेस युनियनको महाधिवेशन र संगठन बारे विभिन्न जिल्लाबाट सुझाव पराजुलीलाई नेतृत्व सम्हाल्न आग्रह


पोखरा, १४ साउन

नेपाल प्रेस युनियनको आशन्न पोखरा महाधिवेशनलाई व्यवस्थित र नमूनायोग्य बनाउने तथा महाधिवेशनपछि युनियनको संगठनलाई सुदृढ गर्ने सम्बन्धमा पूर्वी नेपालका विभिन्न जिल्लाहरुको भ्रमणमा गएको टोली पोखरा फर्किएको छ ।

महाधिवेशन व्यवस्थापन समितिका मूल संयोजक तथा युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली सहितको टोली पोखराबाट एक साता व्यापी भ्रमणका लागि अघिल्लो बुधबार निस्केको थियो । टोलीले तनहुँ, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, सिराहा, मोरङ, सुनसरी र झापा लगायतका जिल्लामा पुगेर युनियन सम्बद्ध पत्रकारहरुलाई भेटेर विभिन्न सुझाव लिएको छ । विभिन्न जिल्लाका पत्रकारहरुले युनियनको महाधिवेशन भदौ २१ र २२ गते भन्दा पछाडि सार्न नहुने कुरामा जोड दिंदै युनियनलाई पार्टीका सीमित नेताहरुको निर्देशनमा चल्न दिन नहुनेमा जोड दिएका थिए । उनीहरुले श्रमजीवि पत्रकार ऐन अनुसार पत्रकारहरुलाई सेवा सुविधा उपलव्ध गराउने र विभिन्न संचार माध्यमको सवलिकरणका लागि युनियनले सरकारलाई समेत दवाव दिनुपर्ने बताए ।

सुझाव लिनका लागि जिल्ला भ्रमणमा निस्किएका युनियनका केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन व्यवस्थापन समितिका मूल संयोजक पराजुलीले विभिन्न जिल्लामा आयोजित कार्यक्रममा युनियनको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको भन्दै महाधिवेशन पछि युनियनलाई कस्तो बनाउने भन्ने सम्बन्धमा सबैको सुझाव आवश्यक रहेको बताए । भ्रमण टोलीमा रहेका युनियनका मध्यमाञ्चल संयोजक दीपक आचार्यले युनियनको विधान संशोधन र युनियनले गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए ।

विभिन्न जिल्लाको कार्यक्रममा युनियन संवद्ध पत्रकारहरुले केन्द्रीय उपाध्यक्ष पराजुलीलाई आगामी नेतृत्व सम्हाल्न समेत आग्रह गरेकोमा पराजुलीले पहिले महाधिवेशन सुनिश्चित गर्नुपर्ने र त्यसपछि जोसुकै पनि उम्मेदवार बन्न सक्ने भन्दै आफूले संगठनमा झण्डै दुई दशक बिताएकोले संगठनका सदस्यहरुको चाहना र भावना अनुसारनै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।