पोखरामा अन्तर्राष्ट्रिय स्तरको दुई दिने स्वास्थ्य कार्यशाला हुने


पोखरा – पोखरामा शुक्रबारदेखि स्वास्थ्य क्षेत्रसँग सम्वन्धी अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला हुने भएको छ। शनिवारसम्म चल्ने कार्यशालामा नेपाल सहित विभिन्न राष्ट्रका एक सय चिकित्सक सहभागि हुने स्थानीय संयोजक एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा बुद्विबहादुर थापाले जानकारी दिए।

कार्यशाला फोक्सोसँग सम्वन्धी रोग र सघन उपचार कक्ष भित्रको उपचार विधिमा केन्द्रीत रहने छ। रोयल कलेज अफ फिजिसियन्स अफ इडिनवर्ग युके , सोसाईटी अफ इन्टरनेशनल मेडिसिन अफ नेपाल(सिमोन) र हेल्थ एक्सचेञ्ज अफ नेपालको संयुक्त आयोजनामा कार्यशाला हुन लागेको हो।

रोयल कलेज अफ फिजिसियन्स अफ इडिनवर्ग युकेले प्रत्यक वर्ष नेपालमा यस्तो कार्यशाला गर्दै आएको छ पोखराका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. बसन्त ताम्राकारले भने – ‘यसपटक पोखरामा हुनु हाम्रा लागि खुशीको विषय हो।’