“बिश्वास दिलाउन चाहान्छु, तपाईको अमुल्य मतलाई खेर जान दिने छैन।”


जुरिच/ गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय संयोजक पदका एक प्रमुख दाबेदार मानिएका डा. बिनय श्रेष्ठ एक दशक देखि संघको अभियानमा सक्रिय रुपमा लागेका छन्।अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका डा. श्रेष्ठले संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

स्विट्जरल्याण्डसमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत डा. श्रेष्ठलाई युरोप संयोजक पदमा धेरै आकाक्षींहरु देखिए पनि योग्य उम्मेद्वारको रुपमा लिईएको छ। गैरआवासीय नेपाली सँघ स्विटजरल्यान्डका संस्थापक उपाध्यक्ष समेत रहेका श्रेष्ठले दुई कार्यकाल सम्म अध्यक्षको जिम्मेबारी सम्हालेका थिए। उनले संघका बिभिन्न कार्यदलहरुमा समेत जिम्मेबारी पुर्बक भूमिका निर्बाह गरेका छन्। डा. श्रेष्ठको उम्मेदवारी तथा योजनाको बारेमा नेपालीनेपाली डटकमले गरेको कुराकानीको सम्पादित अंश :-

गैरआवासीय नेपाली संघलाई तपाई कुन रुपमा लिनु हुन्छ ?

हाम्रो कर्मभूमि युरोप भएपनि नेपाल हाम्रो मातृभूमि हो,  मूल घर हो । हामीलाई नेपाली माटो, परिवेश र संस्कृतिले हुर्काएको हो । म युरोपेली समाजमा घुलमिल भए पनि नेपाली भाषा, कला र संस्कृति अर्थात नेपालीपन नै मेरो मूल मर्म हो भन्ने ठान्दछु । मैले एनआरएन संघलाई नेपाल, नेपाली र गैरआवासीय नेपालीहरुका बीचको भावनात्मक पुलको रुपमा ग्रहण गरेको छु ।

संघले हरपल नेपाल, नेपाली र गैरआवासीय नेपालीहरुको सुखदुःखको साथी बन्ने कोशिस गरेको मैले पाएको छु । नेपाल र नेपालीजनको दु:खमा सक्दो मल्हमपट्टि लगाउने प्रयास गरेको देखेको छु । नेपाल र प्रवासी नेपालीबीचको सेतु बन्न यसप्रकारको संस्था हुनु आवश्यक छ र यस्तो अभियानलाई हामीले प्रतिबद्ध भएर सहयोग गर्नुपर्छ भन्ने मेरो पहिल्यैदेखिको बुझाई हो । पक्कै पनि सबैले अपेक्षा गरे जति संघले सफलता प्राप्त गर्न सकेको छैन तर हामी निरन्तर प्रयासरत छौं ।

संघको अभियानमा कहिले देखि लाग्नु भयो ?

सन २००८ मा हामीले स्विटजरल्याण्डमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषदको गठन गरेका हौं । म संस्थापक उपाध्यक्ष थिएँ । त्यसपछि म निरन्तर र सक्रिय रुपमा एनआरएन संघमा संलग्न छु । यस क्रममा मैले राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डको दुई कार्यकाल अध्यक्ष र  एक कार्यकाल आईसीसी सदस्यको हैसियतमा कार्य गर्ने सौभाग्य प्राप्त गरें ।

एनआरएन अभियानमा सहभागी भएदेखि नै मैले विश्वभरि छरिएर रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुसँग नेपाल, नेपाली  र गैरआवासीय नेपालीहरुका चासोका विषयहरुमा अन्तरक्रिया र सहकार्य गर्ने अवसर प्राप्त गरेको छु ।

म यस अभियानमा सामेल भएदेखिनै मैले यसलाई एक विश्वविद्यालयको रुपमा लिएर गैरआवासीय नेपाली समाजको विविध पक्ष र पाटाहरुको सूक्ष्म विश्लेषण गर्दै आफ्ना विचार राख्ने र लेख-रचनाहरु प्रकाशित गर्ने गरेको छु । संस्थागत रुपमा मैले विगतका १० वर्ष खासगरी यसै अभियानमा बिताएँ । मेरो मन, वचन र कर्ममा एनआरएन संघ छ ।

तपाईले युरोप संयोजक पदमा उम्मेदवारी दिनु भएको छ ? के छन् तपाईका एजेण्डाहरु ?

गैरआवासीय नेपाली संघको स्थापना, विकास र प्रगतिमा युरोप क्षेत्रको भूमिका गौरवशाली रहेको छ। यो गौरवशाली इतिहासलाई कायम राख्दै युरोपमा एनआरएन अभियानलाई समन्वयात्मक रूपमा अगाडि बढाउने हेतुले मैले उम्मेदवारी दिएको हुँ ।

पहिलो, युरोप क्षेत्रका एनसीसीहरुको संस्थागत विकासका लागि आईसीसीसँग सहकार्य गरी एक विशेष योजना तर्जुमा गर्ने र संस्थागत विकास एवं आर्थिक पारदर्शितामा जोड दिने मेरो योजना छ ।

दोस्रो एजेण्डा हो, संघका संस्थागत चुनौतीहरु सम्बोधन गर्न प्रस्तावित “भिजन २०-२०” लाई तार्किक निष्कर्षमा पु‍र्‍याउन युरोपले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

तेस्रो कुरा, प्रवासी नेपालीहरूको प्रतिनिधि संस्था गैरआवासीय नेपाली संघ भए पनि अझैसम्म पनि थुप्रै साथीहरू संस्थामा आबद्ध हुनुहुन्न । त्यस्तै दोस्रो पुस्तालाई पनि आकर्षित गर्नु आवश्यक छ । यसको निम्ति गतिशिल नेतृत्व आवश्यक हुन्छ ।

अर्को कुरा, युरोपका प्रवासी नेपालीहरुको पेशागत, शैक्षिक, आर्थिक एवं सामाजिक क्षमता विकासका निम्ति एनसीसीहरुसँग छलफल गरी एक कार्यनीति तय गर्ने र त्यसलाई कार्यान्वयन गर्ने मेरो योजना छ । त्यसैगरी, नेपालमा गरिने परोपकारी योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्रत्यक्ष प्रभावकारी भूमिका खेल्नेछौं। साथै, संघका मेगा प्रोजेक्टहरु (लाप्राक, भवन निर्माण आदि) मा प्रतिबद्धता अनुसारको सहयोगलाई निरन्तरता दिन मेरो भूमिका रहनेछ ।

युरोप क्षेत्रमा २७ वटा राष्ट्रिय समन्वय परिषदहरु छन्,तर सबै सक्रिय त छैनन् नि ?

एनआरएन संघको स्थापना र विकास युरोपबाट नै भएको तथ्य सर्वविदितै छ । युरोप क्षेत्र संघको सबैभन्दा बढी राष्ट्रिय समन्वय परिषदहरु भएको क्षेत्र पनि हो । यस क्षेत्रले यसैअनुसार संघमा आफ्नो भूमिका पनि खेल्दै आएको छ । तर यो काफी छैन । समयानुकूल दृष्टिकोण र ‘रोल-प्ले’ को आवश्यकता छ । हामीलाई त्यस्तो खालको नेतृत्व चाहियो जसले नवीन सोच, प्रज्ञा र प्रवासी नेपालीका दोस्रो पुस्ताको चाहनालाई समेत ग्रहण गरेर काम गर्न सकोस् ।

युरोप क्षेत्रमा २७ राष्ट्रिय समन्वय परिषदहरु छन् । जसमा हजारौं सदस्य भएका राष्ट्रहरुदेखि एक सयभन्दा कम मात्रले सदस्यता लिएका राष्ट्रहरू पनि छन् । अर्को पक्ष हेर्ने हो भने केही राष्ट्रिय समन्वय परिषदहरु अत्यन्तै सक्रिय छन् त  केही कम सक्रिय छन् । अझै गहिरो अध्ययन गर्ने हो भने युरोपमा पनि फरक फरक आर्थिक उन्नति र आयस्तर भएका राष्ट्रहरु छन् । यी सबै राष्ट्रहरुलाई सामूहिक रुपमा गाडि बढाउनु पर्ने आवश्यकता म देख्दछु ।

थोरै सदस्यता भएका राष्ट्रिय समन्वय परिषदले पनि क्षेत्रीय र केन्द्रिय स्तरमा सशक्त भूमिका खेल्न सक्ने वातावरणको सृजना हुनु जरुरी छ । त्यस्तै ठूलो संख्यामा सदस्यहरु हुने परिषदहरुलाई पनि आकार अनुसारको जिम्मेवारी दिनुपर्ने हुन्छ । त्यसैले हरेक राष्ट्रिय समन्वय परिषदको आवश्यकता र संभावनालाई बुझेर सटिक ढँगले व्यवस्थापन र प्रोत्साहन गर्नु आवश्यक छ । जसले गर्दा हरेक युरोपेली देशमा रहेका मित्रहरूको सीप र अनुभवलाई उपयोग गर्ने वातावरण बनोस् ।

पेशागत क्षेत्रहरुमा सिकेका ज्ञान, सीप र विशेषज्ञतालाई,नेपाल भित्र्याउन कसरी सकिएला ?

युरोपको नेपाली समाजले सिकेको सबैभन्दा ठूलो कुरा भनेको यहाँको काम गर्ने पद्धति, गुणस्तरीय शैली र कामलाई सम्मान गर्ने संस्कृति हुन् भन्ने मलाई लाग्दछ ।  त्यसका साथसाथै नेपालीहरुले बढ्दो रूपमा पेशागत क्षेत्रहरुमा ज्ञान, सीप र विशेषज्ञता हासिल गरेका छन् । यी सबै दक्षता र विशेषज्ञतालाई कुनै न कुनै रुपमा हामीले नेपाल भित्र्याउन सक्नु नेपालको हितमा हुन्छ । यसका निम्ति एउटा समिति मात्र सक्रिय भएर पुग्ने अवस्था छैन । पुरा क्षेत्र र केन्द्र नै लाग्नु पर्ने देखिएको छ । यो गहन कुरा हो । मैले युरोपमा हामीले आर्जन गरेको शिप र ज्ञानलाई नेपाल भित्र्याउन क्षेत्रगत रुपमै एक योजना बनाई कार्य गर्ने सोच राखेको छु ।

एनआरएनमा भिजन भएका व्यक्तिहरू पाखा लागे भनेर चिन्ता छ नि ?

 गैरआवासीय नेपाली संघप्रति घरदेश र परदेशमा निकै चासो र आशा रहेको छ । निःसन्देह यो संस्था यहाँसम्म आइपुग्न एनआरएन अभियन्ता र अग्रज नेतृत्वको देन छ । तर पछिल्लो समयमा विद्वान मित्रहरू, सचेत एनआरएनकर्मीहरू र पत्रकार साथीहरूले पनि एनआरएन संघमा राजनीतिकरण ज्याद्री हुनथाल्यो र भिजन भएका व्यक्तिहरू पाखा लागे भनेर चिन्ता व्यक्त गर्नु भएको छ । मेरो संस्थागत लगाव, उच्चशिक्षा र अनुभवसिद्ध प्रोफाइल खुला पुस्तक जस्तै छ । यस परिप्रेक्ष्यमा म संघका सबै सदस्यहरूलाई के निवेदन गर्न चाहन्छु भने तपाईंहरूले नेतृत्व चयनका बेला मेरो प्रोफाइल र अन्य उम्मेदवार साथीहरूको प्रोफाइललाई तुलनात्मक रूपमा हेरेर निर्णय लिनुहोस् । हाम्रो मिसनमा, हाम्रो उद्देश्यप्राप्तिमा र दूरगामी कार्यनीति लिएर संस्थालाई अगाडि बढाउने सवालमा म खरो उत्रन्छु भन्ने कुरामा म सबै मित्रहरुलाई विश्वास दिलाउन चाहन्छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

पेशाले म डाक्टर हुँ। बिगत १४ बर्ष देखि स्बिटजरल्याण्ड दिनहुँ बिरामीसँगै मेरा दिन बितेका छन्। तर गैर आबासीय नेपाली संघ एनआरएनए यस्तो संजाल बनिदियो,म लगायत म जस्तै बिभिन्न पेशामा लागेका धेरै नेपालीहरु एउटै छाता मुनि अटाउन सफल भएका छन् । त्यसैले त बिगत एक दशक देखि कुनै कुनै रुपमा एनआरएनको अभियानमा सक्रिय रहदै आएको छु।

देश छोडेर प्रबासमा बस्नु हामी सबैको आ-आफ्नै बाध्यता छ। यो बाध्यतासँगै, ५० लाख भन्दा बढी गैर आबासीय नेपालीहरुको संजाल एनआरएनएको अभियानमा संलग्न हुन पाउँनुलाई भाग्यमानी ठान्दछु। एनआरएन अभियानमा सहभागी भएदेखि नै मैले विश्वभरि छरिएर रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुसँग नेपाल, नेपाली  र गैरआवासीय नेपालीहरुका चासोका बिषयहरुमा नजिकबाट बुझ्ने मौका पाएको छु।

बिश्वास दिलाउन चाहान्छु, तपाईको अमुल्य मतलाई खेर जान दिने छैन। मन वचन र कर्मले आफ्नो जिम्मेबारीलाई पूर्ण रुपमा निर्बाह गर्ने छु।”