स्पेनको क्याटलान जनमत संग्रहमा झडप, सयौ घाईते (भिडियो सहित)


बीबीसी / स्पेनको सरकारले क्याटलान पृथकतावादी नेताहरुलाई आग्रह गर्दै स्वतन्त्रता सम्बन्धी गैरकानूनी जनमत संग्रह फिर्ता लिन भनेका छन्। सो जनमत संग्रहको क्रममा प्रहरीसंगको हिंसात्मक भिडन्तमा चारसय जना भन्दा बढी घाइते भएका छन्।

एकजना मन्त्री सोराया साएन्ज डी सान्तामारिया ले सो जनमत संग्रहलाई देखावटी ठट्टेउली भन्दै त्यसबाट केही हासिल नहुने टिप्पणी गरेकी छन्। “यो जनमत संग्रह गराउनु क्याटलानहरुका लागि मात्र नभई सबै स्पेनीहरुका लागि पनि लज्जाको विषय हो।

“पृथकतावादीहरुसंग असहमत हुनेहरुले पनि आफ्नो अधिकार कसरी गुमाईंदै छ भनेर हेरिरहनु परेको छ,” ति मन्त्रीले भनिन्। बार्सिलोना शहरमा विरोध प्रदर्शनकारीहरुको भिडमा प्रहरीले लाठी चार्ज र रबरको गोली प्रहार गरेपछि क्याटलान नेता कारलस पूजमोनले प्रहरीले क्रुर व्यवहार गरेको आरोप लगाएका छन्।

मतपेटिकाहरु हटाएर मतदान रोक्ने प्रयास गर्दा ११ जना प्रहरी घाइते भएका स्पेनको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। उक्त जनमत संग्रह अवैधानिक भएको स्पेनको संवैधानिक अदालतले निर्णय सुनाएको थियो। क्याटलन आपतकालीन सेवाहरुले ३ सय जनाभन्दा बढी घाइते भएको बताएका छन्।

जनमत संग्रह पक्षधरहरुले ढुंगा वर्षाएपछि प्रहरी पछि हटेको दृश्यसहितको भिडियो मन्त्रालयले जारी गरेको छ। प्रहरीले मानिसहरुलाई मतदान गर्नबाट रोकिरहेका छन्। मतदान केन्द्रका मतपत्र र पेटिका प्रहरीले आफ्नो नियन्त्रणमा राखेका छन्। ‘गणतन्त्रको रुपमा क्याटलोनिया स्वतन्त्र राष्ट्र होस् भन्ने चाहनुहुन्छ वा हुँदैन’ भन्ने एउटा प्रश्न मतपत्र छ। हुन्छ र हुँदैन भन्ने दुईवटा मतपेटिका राखिएका छन्।

मतदान शुरु हुनुपूर्व क्याटलन सरकारले आफ्नो निर्धारित मतदान केन्द्र बन्द रहे, मतपत्र प्रिन्ट गरेर जुनसुकै केन्द्रमा खसाल्न सकिने बताएको थियो। क्याटलोनियामा आफ्नै खालको भाषा र संस्कृति छ र ७५ लाख मानिसको बसोवास रहेको यो ठाउँ धनी क्षेत्र मानिन्छ।