मोदीको भ्रमणमा भारतसँग उर्जा सम्झौता गर्न तिन दलको नीतिगत सहमति


काठमाडौ, श्रावण १३ –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोको आइतबारदेखि हुने दुई दिने आसन्न नेपाल भ्रमणको उर्जा व्यापार सम्झौताका र जलविद्युत विकास सम्झौता गर्ने विषयमा प्रमुख तीन दलका नेताहरुबीच नीतिगत सहमति भएको छ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न तीन दलको बैठकले मोदी भ्रमणको बेला ऊर्जा विकास सम्झौता सहमति जुटाउन तीन दलका एक एक जना रहने गरी कार्यदल गठन गरिएको छ ।

कांग्रेस तर्फबाट अर्थमन्त्री रामशरण महत, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी नेता नारायणकाजी श्रेष्ठ कार्यदलमा रहेका छन् । कार्यदलले हालै भारतीय सरकारको तर्फबाट नेपालको विकासका लागि दुई देशबीचको हुने सम्झौताका साथै अन्य पठाएको प्रस्ताव उपर आन्तरिक गृहकार्य गर्ने बताईको छ ।

राजनीतिक दलको सहमति जुटाएर अझ मजबूद बनाउँदै आपसी हितको विषयमा सझौता गर्नुपर्ने कुरामा सबै दलहरु सहमत भएका छ्न् , कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए ।

बैठकमा मोदीको भ्रमणको तयारी बारे ऊर्जामन्त्री राधा ज्ञवाली र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी गराएका थिए ।
बैठकमा नेताहरुले भारतसँग बहुचर्चित उर्जा व्यापार सम्झौता गर्दा उर्जा उत्पादनको विषयलाई अलग गर्दै भोलिका दिनमा नेपालले अरु मुलुकसँग उर्जा व्यापार गर्न सकिने गरी भारतसँग सम्झौता गर्नुपर्नेमा जोड दिएका थिए।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठले मोदी भ्रमणबारे दलहरुको बैठक विकास र पूर्वाधार निर्माणमा केन्द्रीत भएको बताए ।

बैठकमा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले मोदी भ्रमणलाई साझा उपलब्धी मान्न दलहरु तयार हुनुले आफूमा अझ उत्साह थपेको भन्दै शीर्ष नेतालाई धन्यवाद दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनु पूर्व राजनीतिक दलहरुबीच आन्तरिक सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्री कोइरालाले आफ्नै सरकारी निवास वालुवाटारमा मंगलबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीका शीर्ष नेताहरुको बैठक डाकेका थिए।