तत्काल हिंसा रोक्न मुनको आग्रह


न्युयोर्क (बीबीसी), श्रावण १३ – पेलेस्टाइनी क्षेत्र गम्भीर अवस्थामा रहेको भन्दै राष्ट्रसंघीय महासचिव वान की मुनले तत्काल हिंसा रोक्न आग्रह गरेका छन् ।

‘मानवताका नाममा आतंक बन्द हुनैपर्छ,’ उनले संवादाताहरूसँग भने । उनको आह्वानलगत्तै गाजाको मुख्य अस्पतालको गृह परिसरमा इजरायली आक्रमण भएको छ ।

हमासबाट भएको रकेट प्रहारको जबाफमा इजरायलले तीन सातादेखि प्रतीकात्मक कारबाही जारी राखेको छ । उक्त क्षेत्रको भ्रमणबाट फर्केका वानले न्युयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा सानो तटीयपट्टिको नागरिक क्षेत्रमा हानाहानका लागि दुवै पक्षको आलोचना गरेका छन् । हमासले इजरायलको नागरिक क्षेत्रमा क्षेप्यास्त्र र इजरायली सुरक्षा बलले गाजापट्टिको सघन बस्तीमा उच्च विस्फोटक हतियारले आक्रमण गरेका छन् । बढी नागरिक गरी १ हजार ३० पेलेस्टाइनीको मृत्यु भएको छ । दुई इजरायली नागरिक र ४३ सैनिकको पनि ज्यान गएको छ । इजरायलमा एक थाई नागरिकको पनि ज्यान गएको छ ।

गाजाको जनताका लागि कहीं भागेर जाने ठाउँ नभएको बानले भनेका छन् । उनीहरूको संरक्षण गर्ने जिम्मेवारी संघर्षमा सहभागी भएकाहरूको भएकामा उनले जोड दिएका छन् ।

वानले राष्ट्रसंघको तत्काल र बिनासर्त मानवीय युद्धविराम आह्वानलाई दोहोर्‍याएका छन् । राष्ट्रसंघ र अमेरिकी विदेशमन्त्री जोन केरीको निरन्तर प्रयासको समेत परवाह नगरी आतंकलाई नरोकी दुवै पक्षले नैतिक रूपले गलत र गैरजिम्मेवारी व्यवहार प्रदर्शन गरेको वानले बताए । उनले संवाददाताहरूसँग भने, ‘यो उनीहरूको राजनीतिक इच्छाशक्तिको विषय हो, दुवैले नेताका रूपमा मानवता प्रकट गर्नुपर्छ ।’

राष्ट्रसंघीय सुरक्षा परिषद्ले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको छ । २४ घन्टे युद्धविरामका लागि दुवै पक्षले प्रस्ताव स्वीकार गरेपनि आक्रमण भने रोकिएको छैन ।

परिषद्ले गाजामा मानवीय सहायताको ठूलो खाँचो रहेको भन्दै ठूलो संख्यामा बालबालिका र सर्वसाधारण मारिएको भन्दै बिनासर्त र तत्कालै युद्धविराम गर्न अपिल गरेको हो ।

अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि इजरायललाई तत्कालै युद्धविराम गर्न अपिल गरेका छन् । ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आइतबार राति टेलिफोन गरी आक्रमण रोक्न आग्रह गरेको ह्वाइट हाउसले जनाएको छ ।