दशैको टीकाको साइत ११ बजेर ५५ मिनेटमा उत्तम


पोखरा – यसपालिको  विजयादशमीको देवी बिसर्जनको साइत  असोज १४ गते  बिहान ८ः०० बजेर एक मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १४ गते ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी बताउनुभयो । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतिक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानवजातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । “दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीयरुपमा प्रमाण छैन, यो मानवमात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”– धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भन्नुभयो । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा  महानवमीसम्म प्रत्येक दिन फरकफरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेले दसैँ घर, कोत र शक्ति पीठमा बलीसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ । यसअवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।