क्यानको स्पष्टीकरणबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतको निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिस्तरको (२०७४ भदौ २७ गते) को निर्णयअनुसार क्यानका महानिर्देशकले मन्त्रालयका सचिवसँग आव २०७३÷७४ को कार्यसम्पादन सम्झौताबमोजिमका कार्यमा सन्तोषजनक स्तर हासिल गर्न नसकेको विषयमा सोधिएको स्पष्टीकरणबारे अनर्गल प्रचार गरिएको भन्दै यस विषयमा आएका विभिन्न टीकाटिप्पणीको कुनै सत्यता नरहेको जनाएको छ ।

साथै, यस्ता समाचार प्रकाशित गर्दा मन्त्रालयको आधिकारिक स्रोतसँग सम्पर्क स्थापित गरेर मात्र सत्यतथ्यका आधारमा समाचार प्रकाशन प्रसारण गर्न पनि मन्त्रालयले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

क्यानका महानिर्देशकले मन्त्रालयका सचिवसँग गरेको उक्त सम्झौताको विभिन्न ३० वटा क्रियाकलाप रहेका र त्यसमा सन्तोषजनक कार्यसम्पादन स्तर हासिल गर्न नसकेको विषयमा मात्र केन्द्रित भई स्पष्टीकरण सोध्ने निर्णय भएको र उक्त सम्भौताभन्दा बाहेकका केही विषयमा स्पष्टीकरणको पत्रमा परेको सन्दर्भमा तत्कालीन निमित्त सचिवलाई मन्त्रीस्तरको निर्णयबाट यही असोज ४ गतेको निर्णयबाट स्पष्टीकरणसमेत सोधी सकिएको मन्त्रालयले जनाएको छ ।

सरकारको उच्च राष्ट्रिय प्राथमिकतामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सुधार आयोजनाको सम्बन्धमा आएको टीकाटिप्पणीबारे थप प्रस्ट पार्दै मन्त्रालयले उक्त आयोजनाको ठेकेदार कम्पनी सान जोसी र स्पेनिस परामर्शदाताको बारम्बारको लापरबाहीले क्यान र ठेकेदारबीच भएको सम्झौताअनुरुप काम नभएकाले सरोकारवाला निकायको सहमतिमा ठेक्का रद्द गरिएको र सरकारले उक्त कम्पनीलाई कालो सूचीमा समेत राखिसकेकाले यस विषयमा सरकार र यसअन्तर्गत निकायको एउटै धारणा रहेको पनि विज्ञप्तिमा जनाइएको छ । रासस