सपिला राजभण्डारीले महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा


बार्सिलोना/गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको महिला उपाध्यक्षमा सपिला राजभण्डारीले उम्मेदवारी दिने घोषणा गरेकी छन्। दुई पटक सम्म महिला संयोजक पदमा रही काम गरेकी राजभण्डारीले बिहिबार एक बिज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गरेकी हुन्। आठौ महाधिवेशनबाट संघको संशोधित बिधान अनुसार महिला उपाध्यक्ष पद पनि रहने छ।

२०११-२०१३ मा एनआरएनको परोपकारी कार्य दलको सह संयोजक तथा दुई कार्यकालसम्म अन्तर्राष्ट्रिय महिला संयोजक भई नेपालमा स्वास्थ्य शिविर र जागरूकता कार्यक्रम, परोपकारी परियोजना र प्राकृतिक प्रकोप र विपदको बेलामा नेपालमा रहेर स्थलगत राहत कार्यको उनको उल्लेख योगदान रहेको छ। १४ वर्ष देखि नै एनआरएन अभियानमा सक्रिय रुपमा लागि परेकी राजभण्डारी सन् २००६ मा नै एनआरएन रसियाको उपाध्यक्ष हुँदै अन्तराष्ट्रिय समन्वय परिषदको सदस्यमा पनि काम गरिन्।

राजभण्डारीले उम्मेदवारी घोषणा गर्दै बिज्ञप्तिमा लेखेकी छन् ,”अहिले सम्म गरिएका कार्यहरूको निरन्तरता, महिला सशक्तिकरण र  अभियानको आधुनिकरणको निमित्त आफूले गरेका कामको अनुभवको आधारमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्वमा रही काम गर्न सक्षम छु भन्ने आत्मविश्वासले उम्मेदवारी दिने निर्णय गरेकी हुँ।”

राजभण्डारीले एनआरएन अभियानमा पुर्याएको योगदान स्वरुप सन् २०१५ मा ऎक्यबद्दता पत्रिकाले बेष्ट एनआरएन तथा केहि महिना अघि मात्र नेपालीनेपाली डटकम मार्फत “युरोप वर्ष व्यक्तित्व” को सम्मान पाएकी थिईन्। उनि नेपाल पर्यटन बोर्डको रुसका लागि मानार्थ प्रतिनिधि समेत हुन्।

यस्ता छन् राजभण्डारीका कार्ययोजनाहरु:-

  • बैदेशिक रोजगारीको क्रममा नेपाली महिलाहरुको समस्याको समाधान र समस्त महिलाहरुको हक, हित, अधिकार,समुन्नति र सशक्तिकरण नै मेरो प्रथम प्राथमिकता हुनेछ। यस क्षेत्रमा मैले आईसीसी महिला संयोजकको रुपमा गरेका कामको निरन्तरता, उपाध्यक्ष पदमा रही अझ प्रभावशाली ढंगले गर्न सकिने विश्वास रहेको छ।  यस क्षेत्रमा गर्नुपर्ने कार्य निम्न प्रकारका छन्:

अ)  बैदेशिक रोजगारमा रहेका महिलाहरुले विभिन्न समस्या खेप्नुको साथै अन्य मानसिक, शारीरिक र यौन उत्पीडनको शिकार हुनु परेकोले नेपाली सरकार, दूतावास,एनसीसी र महिलाहरुको क्षेत्रमा काम गर्ने सम्बन्धित देशका सरकारी, गैर सरकारी कल्याणकारी संस्थाहरुसँग महिलाहरुको कानुनी अधिकार र उद्धारको निमित्त समन्वय कार्यक्रमको संरचना तयार पार्नेछु। १ हजार भन्दा बढी संख्यामा महिला श्रम रोजगार भएको देशमा नेपाल राजदूतावासको संरचनामा आपतकालीन सुरक्षा गृहको स्थापनाको जोडदार प्रयास गर्ने छु।

आ) महिला श्रम रोजगारीहरुको स्वास्थ्य बिमामा गर्भवती अवस्था र प्रसुति खर्चका साथै नवजात शिशुको स्वास्थ्य तथा चिकित्सा व्यय पनि समावेश गर्नु पर्ने व्यवस्थाको पहल गर्ने छु।

इ) गैर आवासीय नेपाली महिलाका बिदेशमा जन्मिएका सन्तानको नेपाली नागरिकताको हक र नेपालमा अन्य नागरिकले पाउने सम्पूर्ण अधिकार प्राप्तिको निम्ति संघर्षरत रहने छु।

ई) अधिकांश नेपाली महिलाहरु बैदेशिक रोजगारीको क्रममा घरेलु काममा संलग्न हुनु पर्ने अवस्थामा, उनीहरुको कार्य क्षेत्र स्तरको विकासको निमित्त नेपालमा अन्य शिल्पकारी पेशाको तालिम केन्द्रहरुको स्थापनाको लागि नेपाल सरकार र सम्बन्धित निकाय संग संयोजन गर्नेछु।

  • गैर आवासीय संघ, अप्रवासिय नेपालीहरुको संगठन मात्र नभई एक नितान्त भावनात्मक अभियान पनि हो। तर अहिले सम्म पंजीकृत सदस्यहरुको संख्या निकै कम भएकोले अझै पनि एनआरएनका सम्पुर्ण पक्षहरु सम्मिलित नभएको अवस्था छ। तसर्थ सदस्य पंजीकृत अभियानलाई अझ सशक्त बनाउन विभिन्न प्रकारका कार्यक्रम र योजना बनाउने छु। हाम्रो संस्थाको भविष्य बिदेशमा नै जन्मिएका हुर्किएका दोश्रो र तेश्रो पुस्ताका एनआरएनहरुको यस संस्थासंगको आवद्धताले भर पर्नेछ। एनआरएनका आगामी कार्यक्रमहरुमा नया पिढीहरुको समस्या, चुनौती र अवसरहरुलाई पनि संवोधन गर्ने बनाउने छु।

 

  • नेपालको आर्थिक, सामाजिक विकास र परोपकारी कार्यहरुमा एनआरएनले खेलेको महत्वपुर्ण भूमिका सहर्ष स्वीकार गर्दछु। तर विदेशमा जिवोयापन गर्दै, विभिन्न समस्याहरु झेल्दै आएका हामीहरुले, सामुहिक रुपमा गरे पनि हाम्रो श्रोत, पहुच अति सिमित छ। तसर्थ एनआरएनहरुले नेपालमा आफ्नो कार्य क्षेत्र र सहयोग असिमित रुपमा बढाउन, आफ्नो कर्मभूमिको सरकारी, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा सक्रिय सहभागी भई त्यहाँको सरकार र अन्य विभिन्न निकायहरु संग नेपालको विकास र  प्रवर्धनको निमित्त निरन्तर लवी गर्नु पर्छ। यसको निमित्त प्रत्येक देशमा त्यहाँ रहेका एनआरएन  बुद्दिजिवि, सफल व्यवसायी, अन्य प्रवुद्ध वर्गका साथै नेपाल प्रेमी स्थानीयहरु सम्मिलित लबिङ्ग् ग्रुपको संरचनाको परिकल्पना  तयार पार्ने छु।
  • विभिन्न व्यक्तिगत समस्याका साथै  अन्तर्राष्ट्रिय मानव तस्करी माफियाहरुको जालखेलले ज्ञान, अज्ञानमा निकै ठुलो संख्यामा नेपालीहरु गैर कानुनि आप्रवासियको रुपमा रहनु परेको यथार्थ छ। यस किसिमको गैर कानुनि अवस्थामा कसैको पनि सुरक्षा, हक, हित र आधारभूत मानव अधिकारहरु निकै नै सिमित हुन्छन्।  मैले मानव तस्करी जस्ता अमानवीय गतिविधिलाई निस्तेज पार्नुको साथै, नेपाल र बिदेशमा अप्रवासन नियमहरुको बारेमा यस क्षेत्रका दक्षहरुसंग सहकार्य गर्दै विभिन्न सेमिनार कार्यक्रम गर्नेछु। धेरै संख्यामा गैर कानुनि प्रवासियहरु रहेको देशमा यस समस्याको सहज निकाय र सहयोगको निमित्त एनआरएन र त्यहाको प्रवासीहरुको हक हितमा काम गर्ने मानव अधिकार संघ संस्थाहरु संगको संयोजकतामा कनुनबिदहरुको  “सहयोग टिम” स्थापना गर्ने योजना तयार परेकी छु।
  • बर्षेनी लाखौ युवा नेपालीहरु रोजगारीको निमित्त बिदेसिन परेको अवस्थामा देशको विकास असम्भव छ। तसर्थ नेपाल भित्र नै रोजगारी शृजना गर्ने एन आर एनको सक्रियता र संलग्नतामा विभिन्न आर्थिक विकासका परियोजना ल्याउन नेतृत्वदायी भूमिका खेल्ने छु। यस किसिमको परियोजनामा बिदेशमा आर्जन गरेका ज्ञान, शिप र दक्षता सहित फर्किएका नेपालीहरुलाई नेपालमा नै रोजगारीको अवसर मिल्ने छन्। बैदेशिक रोजगारीको बारेमा नेपालमा अझै पनि धेरै  भ्रम, ठगि र गलत सूचना प्रवाह भैरहेको अवस्थामा देशका विभिन्न क्षेत्रमा स्थानीय निकाय, शैक्षिक संस्थाहरु र यस क्षेत्रमा कार्यरत एनजीओहरु संग मिलेर जागरुक कार्यक्रम संचालन गर्ने छु।
  • संघले गरिरहेका विभिन्न परोपकारी कार्यहरुलाई निरन्तर र अझ प्रभावकारी रुपमा संचालन गर्न नेतृत्वदायी भूमिका निभाउने छु।
  • एनआरएनका समस्या, चुनौती र हक हित, बैदेशिक रोजगारीहरुको श्रम अधिकार, एनआरएनको नेपाली नागरिकताको निरन्तरता साथै मताधिकारको सुनिस्चता जस्ता क्षेत्रमा नेपाल सरकार र सम्बन्धित निकाय संग समन्वय र सहकार्य गर्नेछु।
  • नेपाली अर्थतन्त्रमा एनआरएनको ज्ञान, शिप, श्रोत र साधन मात्रै नभई बैदेशिक लगानीको लागि उपयुक्त वातावरण बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र निजी क्षेत्र तथा सरकारी निकायहरु संग संयोजन र सहकार्यका थप योजना बनाउने छु। नेपाली उत्पादनको निर्यात तथा एन आर एन ब्यापारी समुदायको विकास, बिस्तार, समन्वय र पारस्पारिक सहयोगको निमित्त प्रत्येक एनसीसीमा बिजनेस म्यान क्लवको स्थापनाको संकल्पना तयार पारेकी छु।
  • नेपाली भाषा, साहित्य, कला, संस्कृति र पर्यटन क्षेत्रको विकास, बिस्तार र प्रवर्धनको निमित्त बिदेशमा कम्तिमा पनि २-३ बर्षको अन्तरालमा नेपाल संस्कृति दिवस, नेपाली मेला महोत्सव जस्ता कार्यक्रमहरुको आयोजना गर्न नेपालमा सम्बन्धित मन्त्रालय, पर्यटन बोर्ड र बिदेशी सरकारी संघ संस्थाहरु संग संयोजन र सहकार्य गर्न प्रत्येक राष्ट्रिय समन्वय परिषद्मा सक्रिय संस्कृतिक समितिको संरचना तयार पार्ने पहल गर्नेछु।
  • मेरा माथि उल्लेखित प्राथमिक महत्वका काम बाहेक हाम्रो संघले गरिरहेका नियमित परोपकारी र अन्य सांगठानिक कार्यहरुमा मेरो सक्रिय नेतृत्वदायी भूमिका रहनेछ। गैर आवासीय नेपाली संघलाई अझ व्यवस्थित , आधुनिक, सामुहिक र सह्भागीमुलुक र यस अभियानलाई सशक्त रुपमा अगाडी बढाउन हरदम प्रयत्नशील रहने छु।