पुस्तकालयको महत्व बुझ्नु र बुझाउनु अपरिहार्य


पोखरा – दशौं पुस्तकालय दिवसका अवसरमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति कास्कीद्वारा आज यहाँ आयोजित अन्तरक्रिया एवम् सम्मान कार्यक्रममा पुस्तकालयको महत्व बुझ्नु र बुझाउनु आवश्यक भएकोमा जोड दिइएको छ ।
पुस्तकालयको महत्वलाई आत्मसात गर्न नसक्दा समाजमा पठन संस्कृतिमा पनि कमी आइरहेको बताउँदै कार्यक्रमका वक्ताले सभ्य समाज निर्माणका लागि पुस्तकालयको स्थापना अपरिहार्य भएको बताए ।

उक्त अवसरमा समाजमा पुस्तकालयको महत्व बारे जनचेतना अभिबृद्धि गराउँदै साहित्यका माध्यमबाट समाज र राष्ट्रमा विशिष्टि योगदान गरेको भन्दै साहित्यकार प्रेम छोटालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता भुपनिधि पन्तले सभ्य समाज निर्माणमा पुस्तकालयको महत्वपूर्ण भूमिका हुने बताउँनुभयो ।
उहाँले पुस्तकालयको महत्वबारे जनचेतना अभिबृद्धि गराउनुकासाथै वातावरण निर्माण पनि गरिनु आवश्यक भएकोमा जोड दिनुभयो ।

जिल्ला पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले कास्की जिल्ला भित्र पुस्तकालयहरूको स्थापना र विकासका लागि यस क्षेत्र सम्बद्ध व्यक्ति एवम् संस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा. विश्व श्रेष्ठले पुस्तकालय सभ्यता र संस्कृतिको पहिचान भएको धारणा राख्नुभयो ।
साहित्यकार प्रेम छोटाले ज्ञान हस्तान्तरणको आधार पुस्तकालय भएको बताउँदै पुस्तकालयमा गएर पढ्ने बानीको विकास आवश्यक भएकोमा जोड दिनुभयो ।

शिक्षासेवी तारा पाखेले विद्या हराए कास्की जानु भन्ने प्राचीन उक्तिलाई आत्मसात गरी जिल्ला भित्र पुस्तकालयको सञ्चालन र विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पोखरालेखनाथ महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछाने, वडा नं ५ का अध्यक्ष धनबहादुर नेपाली, पोखरा सार्वजनिक पुस्तकालयका सदस्य सचिव अर्जुन श्रेष्ठ, दुर्गाप्रसाद आचार्य लगायतले पुस्तकालय र पुस्तकालय दिवसको महत्व बारे आ आफ्ना धारणा राख्नुभएको थियो ।