कास्कीको सभ्य समता सहकारीबाट करिब २६ लाख चोरी


पोखरा – कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ स्थित एक सहकारीबाट बुधबार राती करिब २६ लाख चोरी भएको छ ।

माछापुच्छ्रेको लाहाचोक सानोपाटनमा रहेको सभ्य समता बचत तथा ऋण सहकारी संस्थाबाट २५ लाख ६६ हजार रुपैया चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

सहकारीको पछाडीको झ्यालको छिरेर सेफ फुटाई सेफभित्र रहेको नगद चोरी गरेको प्रहरीले जानकारी दिएको छ । राती नै चारी भएको भए पनि सहकारीमा विहान मात्रै थाहा भएको प्रहरीले जानकारी दिएको छ ।
कार्यालयको सटर भएको पछिल्लो झ्याल फोरेर चोर भित्र पसेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

झ्यालको रड बंग्याएर चोर भित्र पसेको उनले बताए । चोरी राति नै भएको हुनसक्ने उनको भनाइ छ ।

चोरी भएको सहकारी यदुराम अधिकारीको घरमा भाडामा सन्चालन हुँदै आएको थियो ।

सहकारी भएको घरमा अन्य कोही पनि बस्ने गरेका थिएनन् । सहकारीमा सिसी क्यामरा नहुँदा घटना कसरी भयो भन्ने पत्ता लगाउन कठिन भएको छ भने सुरक्षा गार्डपनि नहुँदा अनुसन्धानमा समस्या देखिएको छ ।

चोरी भएको जानकारी पाएलगत्तै डीएसपी खत्रीको नेतृत्वमा प्रहरीको टोली पुगेर मुचुल्का तयार पार्नुका साथै क्षतिको विवरण लिएको छ ।

चोरीको अनुसन्धान भइरहेको डीएसपी खत्रीले बताए । सहकारीमा पैसा रहेको जानकारी भएका सबैलाई विभिन्न कोणबाट सोधपुछ भइरहेको र त्यसमा कर्मचारीदेखि सहकारी व्यवस्थापन समितिका सबैसँग सोधपुछ भइरहेको उनले बताए ।

२०६६ सालमा साविक लाहाचोकमा कार्यालय स्थापना गरी सञ्चालनमा आएको उक्त सहकारी पछिल्लो समय माछापुच्छ्रे गाउँपालिकालाई कार्यक्षेत्र बनाएको थियो । लाहाचोक माछापुछ्रे गाउँपालिकाको केन्द्र हो ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पोखरा लेखनाथ महानगरको लेखनाथ क्षेत्रमा केहि दिन अगाडी करिब १२ वटा सहकारी र पसलमा चोरी भएको थियो ।