मंसिर १० गते ३२ र २१ गते ४५ जिल्लामा निर्वाचन हुने (सूचिसहित)


काठमाडौं– पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर १० गते हुने भएको छ । बाँकी ४५ जिल्लामा भने दोस्रो चरणमा मंसिर २१ गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

निर्वाचन आयोगको सुझावअनुसार दुई चरणमा नै निर्वाचन गर्ने सरकारको निर्णय बमोजिम आयोग दुई चरणमा गर्ने निश्कर्षमा पुगेको हो ।

आयोगको विहीबार बसेको बैठकले आगामि मंसिर महिनामा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरणमा पहाडी तथा तराईका ४५ जिल्लामा गर्ने गरी निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगका सदस्यहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल र सुधीर कुमार शाहको उपस्थिति रहेको थियो ।

आयोगले तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको व्यहोरा उल्लेख गरी नेपाल सरकार मन्त्रिपरिषदलाई पत्रसमेत पठाउने भएको छ ।

कुन कुन जिल्लामा कहिले ?

मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्ला

प्रदेश नं १ ः सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ ः नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नं ४ ः मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ ः रूकुम (पूर्वी भाग) र रोल्पा,
प्रदेश नं ६ ः रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ ः दार्चुला, बझाङ, बाजुरा र बैतडी ।

मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने ४५ जिल्ला

प्रदेश नं १ ः इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट,
प्रदेश नं ३ ः सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ ः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत,
प्रदेश नं ५ ः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,
प्रदेश नं ६ ः सल्यान, सुर्खेत र दैलेख,
प्रदेश नं. ७ ः कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।