डागर स्मृति समाजसेवा पुरस्कार साङ्पोलाई


पोखरा । ५३ वर्ष अगाडिदेखि पोखरामा रहँदै आएका समाजसेवी सोनाम साङपो डागर स्मृति समाजसेवा पुरस्कारबाट सम्मानित हुने भएका छन्।

प्रतिष्ठानका सदस्य लक्ष्मी मल्लको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले यस वर्ष समाजसेवी सोनाम साङपोलाई पुरस्कार योग्य व्यक्तिको रूपमा चयन गरेको हो।

यस अगाडि उक्त पुरस्कारबाट साहित्यकार आरएम डंगोल, भीम रानाभाट, राष्ट्रसेवक चन्द्रा गुरुङ, समाजसेवी विश्वमोहन गौचन, रामबहादुर पौडेल, गोविन्दराज पहारी, हरिश्चन्द्र शर्मा सम्मानित भइसकेका छन्। उक्त पुरस्कारको राशी १० हजार पाँच सय नगद, सम्मानपत्र र दोसल्ला रहेको छ।

यसपटक सम्मानित हुन लागेका सोनाम साङपो २००९ सालमा तिब्बतमा जन्मेर होटल म्यानेजम्यान्टमा डिप्लोमासम्मको अध्ययन गरेका व्यक्तित्व हुन्। ५३ वर्ष अगाडिदेखि पोखरामा रहँदै आएका साङपो ३५ वर्ष अगाडिदेखि विभिन्न संघसंस्था, पर्यटन व्यवसाय र लायन्स क्लबका माध्यमबाट समाजसेवामा लाग्दै आएका हुन्।

साङपो क्षेत्रीय होटल संघ, राइजिङ सर्कल, बुद्ध जयन्ती समारोह समितिबाट सम्मानित भइसकेका छन्। यस्तै, होटल एसोसियसनको सदस्य र पर्यटन परिषद्मा रहेर पर्यटनका क्षेत्रमासमेत काम गरेका साङ्पोले लायन्स क्लबसँग सम्बन्धित दर्जन बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका छन्। युके, युएसए, जापान, थाइल्याण्ड, साउथ कोरिया, जर्मनीलगायतका देशको भ्रमण गरेका साङ्पो हाल लायन्स क्लब अफ पोखरा अन्नपूर्णका निवर्तमान अध्यक्ष हुन्।

डागर स्मृति प्रतिष्ठान नेपालले साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई ऋषी पञ्चमीका दिन उक्त पुरस्कार अर्पण गर्दै आएको छ। यसवर्ष उक्त पुरस्कार यही भाद्र १० गते पञ्चमीका दिन उद्योग वाणिज्य संघको अमृत कक्षमा वितरण गरिने पुरस्कार छनौट समितिका संयोजक लक्ष्मी मल्लले जानकारी दिइन्।