८६६ सरकारी कर्मचारी बर्खास्त


संघाई– चीनले दक्षिणी प्रान्त ग्वाङडोङका ८६६ सरकारी कर्मचारी बर्खास्त गरेको छ। प्रान्तीय सरकारले अनुसन्धानपछि पहिचान गरेका २१ सय ९० जना ‘नांगा कर्मचारी’मध्ये ८६६ जनालाई पदबाट बर्खास्त गरेको हो। यसअघि यति धेरै कर्मचारीलाई एकैपल्ट बर्खास्त गरिएको थिएन। छोराछोरी र परिवार विदेशमा भएका सरकारी कर्मचारीलाई चीनमा ‘नांगा कर्मचारी’ (नेकिड अफिसियल) भन्ने गरिन्छ। भ्रष्टाचारविरुद्ध चीन सरकारले चलाएको अभियानअन्तर्गत ती कर्मचारीलाई बर्खास्त गरिएको हो।
कर्मचारी बर्खास्त गरिएको समाचार ग्वाङडोङ प्रान्तीय सरकारको वेबसाइटमा शुक्रबार प्रकाशित भएको भए पनि स्थानीय सञ्चारमाध्यमले भने शनिबार जनाएका छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले ‘नांगा कर्मचारी’ देश छोडेर जान सक्ने र भ्रष्टाचारबाट कमाएको सम्पत्ति विदेशमा नै जम्मा गर्नसक्ने भएकाले उनीहरूको बढुवा नहुने जनाएको छ। केही महिनाअघि सरकारले ‘नांगा कर्मचारी’लाई आफ्ना परिवार स्वदेश डाक्न वा पद त्याग्न तयार रहन चेतावनी दिएको थियो। चेतावनीपछि कतिपय कर्मचारीले परिवार स्वदेश डाकेका थिए भने कतिपयले पद त्यागेका थिए।
सिन्ह्वाले ग्वाङडोङमा यस्ता ‘नांगा कर्मचारी’ सरकारका लागि ठूलो समस्या बनेको जनाएको छ। हङकङसँग जोडिएको ग्वाङडोङबाट ठूलो संख्यामा चिनियाँ युरोप, अस्ट्रेलिया, उत्तर अमेरिका र दक्षिणपूर्वी एसियामा आप्रवासी बन्ने परम्पराजस्तै भएको छ।
ग्वाङडोङका सरकारी कर्मचारीले हङकङमा लगानी योजनाको फाइदा उठाउँदै आएका छन्। उनीहरूले हङकङमा चीनबाट जनही १० लाख अमेरिकी डलरभन्दा बढी रकम हङकङ लैजाने गरेका छन्। हङकङका लागि लागू लगानी योजनाको फाइदा हङकङसँग जोडिएको ग्वाङडोङका सरकारी कर्मचारीले उठाएका हुन्। चीनका अन्य प्रान्तका कर्मचारीलाई यो सुविधा उपलब्ध छैन। यो सुविधाको फाइदा उठाएर ग्वाङडोङका कर्मचारीले अफ्रिकाका कुनाका राष्ट्र वा युरोप वा अमेरिकामा घरसमेत किन्ने गरेका छन्।
राष्ट्रपति सि चिनफिङले पार्टीको महासचिव र राष्ट्रपति पद सम्हालेपछि गए वर्ष भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएका छन्। उनले भ्रष्टाचारमा संलग्न ‘मुसा’ देखि ‘बाघ’सम्म कसैलाई पनि उन्मुक्ति नदिने घोषणा गरेका थिए। तर आलोचकले भने भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रपति सिले आफ्ना विरोधी निर्मूल पारी आफ्ना सहयोगी र पिछलग्गु भर्ति गर्ने अभियान भएको आरोप लगाउने गरेका छन्।