अर्को इस्लामी इमिरात


बेरुत,  अल कायदाले सिरियामा अर्को इस्लामी इमिरात स्थापना गर्ने घोषणा गरेपछि त्यहाँ नयाँ शक्ति संघर्ष सुरु हुने भएको छ । यसअघि प्रतिस्पर्धी जिहादी समूहले इस्लामिक स्टेट (आईएस) स्थापनाको घोषणा गरिसकेको छ ।

आईएस हाल इस्लामिक स्टेट अफ इराक एन्ड द लेभान्टको स्थापनाको सुरुआती चरणमा रहेको छ । अल कायदासँग आबद्ध अल नुस्र फ्र न्टले आफ्नो प्रभाव क्षेत्र विस्तार गरेको छ । उक्त समूहले रणनीतिक रूपमा महत्त्वपूर्ण ठानिएका गाउँहरूलाई नियन्त्रणमा लिएको छ । अन्य समूहसँग प्रतिस्पर्धा गरेको छ । ११ जुलाईमा अल नुस्रका प्रमुख अबु मोहम्मद अल जोलानीको अडियो सन्देश युट्युबमा जारी गरिएको थियो । उक्त सन्देशमा यस समूहले इस्लामी इमिरात स्थापना गर्ने चाहना व्यक्त गरेको थियो ।

आईएसले सिरिया तथा इराकको भाग जोडेर इस्लामिक खलिफात स्थापना गर्ने घोषणा गरेको दुई सातापछि यो सन्देश आएको हो । यसरी सिरियामा दुई इस्लामी समूह आईएस तथा अल नुस्रबीच संघर्ष हुने तय छ । ती दुई समूहबीच पहिलो युद्ध टर्कीका उत्तर-पश्चिमी सीमाको इडलिब प्रान्तको जिस्र अल सुघुरमा भएको थियो ।