बहुमूल्य धातुको आयात र बिक्री वितरण सहज बनाउन कोटा परिवर्तन


काठमाडौं

-नेपाल राष्ट्र बैंकले पूर्व निर्णयअनुसार सुनको कोटा दैनिक २० किलोबाट १५ मा झारेको छ। बहुमूल्य धातुको आयात र बिक्री वितरण सहज बनाउन कोटा परिवर्तन भएको हो। बजारमा सुनको किनबेच घटेकाले आयात कोटा कम गरेको राष्ट्र बैंकको भनाइ छ। तैपनि सुनचाँदी व्यवसायी गत वर्ष खस्केको व्यापार उकासिनेमा आशावादी छैनन्।
‘अहिले बिक्री छैन। काँचो सुनको व्यापार पनि छैन,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने। आर्थिक वर्ष २०६९/०७० को तुलनामा २०७०/०७१ मा सुन व्यापार एक तिहाईमात्र रहेको उनले बताए। विगतमा जस्तो सुनमा लगानी गर्ने चलन हराएकोले व्यापार निकै घटेको शाक्यको अनुभव छ। ‘यो वर्ष किसानले खेतीपाती गर्न पैसा चाहिएको भन्दै आफूसँग भएको सुनसमेत बेचेको देखिएको छ,’ शाक्य भन्छन्।
भारतमा नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार बनेपछि सुननीति खुकुलो भएकोले नेपालमा भित्रिएको कालोबजारी र तस्करीको सुन निकासी र बिक्री दुवै हुन नसकेको व्यवसायी बताउँछन्। ‘अहिले देशभर दैनिक ३० किलो सुन किनबेच भइरहेको छ,’ शाक्यले भने। बैंकले २० किलोको कोटा कायम राख्दा पनि सुन बिक्री नभएकाले कोटा घटाउँदा पनि सकारात्मक प्रभाव पर्ने सम्भावना नदेखिएको उनी बताउँछन्।
नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मौद्रिक नीतिमा सानो परिमाणमा पनि सुन किन्न सकिने उल्लेख छ। सुनचाँदी व्यवसायीलाई चाहिने कच्चा पदार्थ आपूर्ति सहज बनाउन विद्यमान व्यवस्थामा परिमार्जन गर्न लागेको बेला कोटा परिवर्तन भएको हो। यससँगै केन्द्रीय बैंकले आफूले बेच्ने सुनको परिणाम दैनिक २० किलोबाट घटाएर १५ बनाएको हो।
हाललाई आयात कोटा घटाइएको र माग बढे पुनर्विचार गर्न सकिने नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए। ‘सुनको आन्तरिक व्यापार ठूलो छैन। माग कम भएकाले कोटा घटाइएको हो,’ उनले भने। यसअघि पनि निश्चित समयका लागि कोटा घटबढ गराइने गरेको उनले बताए।
सरकारले आउने तिजका लागि सुन कोटा बढाउने भए पनि व्यापार बढ्नेमा आफूहरु आशावादी नरहेको शाक्यको भनाइ छ। ‘एक महिनालाई किन कोटा घटाउनु, नघटाए पनि हुन्छ भनेर व्यवसायीको तर्फबाट हामीले भनेका थियौं। तर नीतिअनुसार कोटा घटाइएको हो,’ उनले भने। बजारको अवस्था अहिले नै आँकलन गर्न नसके पनि संकेत हेर्दा यो वर्ष पनि सुनको व्यापार खास बढ्ने सम्भावना नरहेको उनले बताए।
गत वर्ष सुनको मूल्यमा निकै उतारचढाव आएपछि व्यापार बढ्न सकेको थिएन। चालु आर्थिक वर्षको पहिलो १० दिनमा पनि सुनको मूल्यमा सामान्य घटबढ भइरहेको छ। साउन १ गते प्रतितोला ५३ हजार तीन सय रुपैयाँ कायम भएको मूल्य भोलिपल्ट बढेर ५३ हजार सात सय ५० रुपैयाँ पुगेको थियो। त्यसपछि दैनिक सामान्य रुपमा घट्दै गत शुक्रबार ५३ हजार रुपैयाँ प्रतितोला पुगेको महासंघले जानकारी दिएको छ।
गत वर्षदेखि हालसम्ममा सुनको सबैभन्दा कम मूल्य पोहोर असार २३ गते कायम भएको थियो। सो दिन छापावाल सुन प्रतितोला ४८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। २०७० भदौ १२ गते सुनको मूल्य इतिहासकै सबैभन्दा महँगो भएको थियो। त्यस दिन सुन किन्ने ग्राहकले एक तोलालाई ६३ हजार तीन सय रुपैयाँ तिरेका थिए। पछिल्ला केही महिनामा यसको मूल्य ५२ देखि ५४ हजारको बीचमा रहेको व्यवसायीले बताएका छन्।