तालिममा रहेका सैनिक सम्पर्कविहीन


नुवाकोट, साउन ११

नेपाली सेनामा छनोट भई तालिम गर्न सैन्य तालिम केन्द्र त्रिशूली नुवाकोट आएका स्याङ्जाका एक युवक एक महिनादेखि सम्पर्कविहीन छन् । नेपाली सेनाको सैन्य दर्जामा छनोट भई तालिम केन्द्र आउनुभएका स्याङ्जाको दरौ–२ कुञ्चेबारीका जसबहादुर केसी सम्पर्कविहीन भएपछि परिवार चिन्तित भएको छ ।

सिन्धुपाल्चोकबाट छनोट भएर जेठ २ गतेदेखि तालिम सुरु गर्नुभएका केसी असार ९ गते भागेको भनी तालिम केन्द्रले जनाए पनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँको बुबा मनबहादुर केसीले दुःखेसो गर्नुभएको छ । असार १० गते तालिम केन्द्रले जसबहादुर भागेको भनेर घरमा जानकारी गराएको एक महिना भएपनि सम्पर्कमा नआउँदा परिवार नै चिन्तामा डुबेको केसीले बताउनुभएको छ ।

तालिमका क्रममा भाग्नेलाई ३० दिनसम्म खोजी गरी पुनः लैजाने भएकाले सम्पर्कमा नआएको अनुमान लगाएका केसी परिवारले हराएको एक महिनाभन्दा बढी दिन भइसक्दासमेत सम्पर्कमा नआएपछि परिवारजनमा चिन्ता बढेको छ ।

केन्द्रले आफ्नो आधार इलाकाभित्र विद्युतीय र काँडे गरी तीन तहको बार लगाए पनि भाग्नेको सङ्ख्याले भने निरन्तरता पाएको छ ।

सैन्य नियमअनुसार तालिमको क्रममा भागेर ३० दिनभन्दा बढी समय सम्पर्कविहीन भएमा पदबाट निष्कासित हुने प्रावधान रहेको छ । २८ दिनसम्म भने सेना र प्रहरीले खोजी गरेर भए पनि पुनः तालिममा सहभागी गराउने गर्दछ ।