विमानस्थलको थप जग्गा अधिग्रहणमा विशेष पहल गर्न माग


पोखरा, ११ साउन ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, पश्चिमाञ्चल क्षेत्रिय कमिटी पोखराले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको थप जग्गा अधिग्रहणमा विशेष पहल गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतलाई आग्रह गरेको छ ।

आइतबार कमिटीका अध्यक्ष गोविन्दराज पहारी, राष्ट्रिय कमिटीका उपाध्यक्ष बासुदेव त्रिपाठी लगायतको टोलीले प्रजिअ राउतलाई छिटो भन्दा छिटो आपसी सहमतीमा टुङग्याई विमानस्थल निर्माणको वातावरण बनाउन माग गरेका हुन ।

प्रमुख पर्यटकीय आवास क्षेत्रको रुपमा रहेको लेकसाइड र ड्याम साइडका ८० प्रतिशत डिस्को, क्लबहरु साउण्ड पु्रफ भएता पनि केहीले हालसम्म पनि आफुलाई त्यो दायरामा नल्याएको उल्लेख गर्दै स्मरणपत्रमा डिस्को क्लवहरुलाई साउण्ड प्रुफ गरी ध्वनी प्रदुर्षणलाई पुर्ण रुपले नियन्त्रण गर्न माग गरिएको छ ।

“सन् १९९८ बाट संचालनमा रहेको देशकै एक मात्र पर्यटक बस पार्कलाई सुविधा सम्पन्न गराई पर्यटन व्यवसायीहरुकै संलग्नतामा सञ्चालन गर्नु पर्नेमा गैरपर्यटन क्षेत्रलाई ठेक्कामा लगाई विगतको सहमती कार्यान्वयन नहुने अवस्था आएको छ” स्मरण पत्रमा भनिएको छ “सो पर्यटक बस पार्कलाई पर्यटन क्षेत्रकै सक्रियतामा निर्वाध रुपमा सञ्चालन गरी स्तरोन्नती गर्नु आवश्यक छ ।”

पोखरा–जोमसोम लगायतका क्षेत्रमा पर्यटक सावरीहरुलाई निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन माग गर्दै कमिटीले फेवा लगायतका तालहरुको वातावरण संरक्षण तथा अतिक्रमणलाई नियन्त्रण गर्नुपर्ने माग गरेको छ ।