पोखराको केदारेश्वर मन्दिरमा मानवसागर उर्लिए


????????????????????????????????????

पोखरा –  पोखराको केदारेश्वर मन्दिरमा साउन अन्तिम सोमबार मानवसागर उर्लिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्व पनि एकै दिन परेको हुँदा विभिन्न ठाउँ ठाउँबाट भगवान् शिव र कृष्णका अनुयायी दर्शनका लागि केदारेश्वर पुगेका हुन् ।

शिवलिंगमा जल चढाउन तथा पूजाआजाका लागि भक्तजन बिहान ४ बजेदेखि नै लाइन बसेका थिए । भक्तजनको भीड यसरी उर्लियो कि उनीहरु साँझसम्म मन्दिरमै पूजाथालीसहित पंक्तिबद्ध देखिन्थे ।

पोखरामा बोलबम सुरु भएयता डेढ दशक अवधिमा सबैभन्दा बढी भक्तजन आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कृष्ण जन्माष्टमीसँगै सार्वजनिक बिदा, बोलबमको अन्तिम दिनले पनि भक्तजनको परिवारका सदस्यसहित दर्शनको लागि आएका मन्दिरका पीठाधीश डा लेखनाथ आचार्यले बताए । उनले आजको दिनलाई शिव र कृष्ण मिलनको दिन भएको बताए ।

मन्दिरमा विदेशी पर्यटकको पनि उपस्थिति पनि उस्तै थियो । उनीहरु भजनमा नाचेर दंग परे ।  ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजित बोलबम शान्तिपद शिवतीर्थ जलयात्रा गाईघाटबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गरी मन्दिरमा पुगेको हो ।

भक्तजनलाई मानव मिलन नारी जागरण संस्थाले प्रसादको व्यवस्था मिलाएको थियो । पैदलायात्रामा रहेका भक्तजनलाई नगरका ठाउँ ठाउँमा सर्वतपानी खुवाएर सहयोग गरेका थिए । सृजनाचोकमा स्थानीय व्यववासी, काभ्रे–पोखरा नेवाः पुच गुठीलगायतले सर्वतपानी खुवाएका हुन् । यस्तै, सिद्धार्थ पोलिक्लीनिकले प्राथमिक उपचारको व्यवस्था मिलाएको थियो ।

बोलबम संयोजक शंकर खरालले कार्यक्रमलाई अघिल्ला वर्षझैं अपार सफलतासहित सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । गाईघाटमा १०८ धारामा स्नान, ८ किमी पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा आठ संयोगका कारण केदारेश्वर पछिल्लो समय चर्चित बन्दै गएको छ । यसपालि साउनमा पाँच सोमबार परेको थियो ।