पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु


पोखरा – पोखराका अस्पताल र औषधि पसलको अनुगमन सुरु गरिएको छ । स्वास्थ्य संस्थाले दिएको सेवा सुविधा र गुणस्तरको बारेमा अनुगमन थालिएको हो ।

आइतवार पहिलो दिन दुई अस्पताल र ६ वटा औषधि पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कतिपय औषधि पसलले सम्बन्धित स्थानमा दर्ता नगरेको, कतिपयमा म्याद गुज्रेको औषधि भेटिएको र कुनै औषधि पसलले विना अनुमति ल्याव समेत सञ्चालन गरेको भेटिएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए ।

पोखराको मेट्रोसिटी र चरक मेमोरियल अस्पताल सहित मुनाल फार्मेसी, आशिर्वाद मेडिकल, जीवन फार्मेसी, एभरेष्ट हेल्थ कियर, स्याङ्जा सिटी फार्मेसी र जिएमसी फार्मेसीमा आइतवार अनुगमन गरिएको हो । अनुगमनका क्रममा मुनाल फार्मेसी र आशिर्वाद मेडिकल घरेलुमा दर्ता नभएको र स्याङ्जा सिटी फार्मेसीमा विना अनुमति ल्याव सञ्चालन गरिएको भेटिएको छ ।

अस्पतालले पनि बेडको अन्तर कायम नराखेको, सेवा सुविधा र शुल्क स्पष्टसँग राखेको नभेटिएको समेत कोइरालाले बताए । सरकारले तोकेको असाहय तथा असक्तलाई जम्मा वेडको १० प्रतिशत निशुल्क छुट्याउनुपर्ने भएपनि अस्पतालले सो बमोजिम नगरेको अनुगमनमा भेटिएको छ ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, उपभोक्ता मञ्च तथा प्रहरी र पत्रकारको संलग्नता थियो ।