कार्वाहीप्रति तरुण दलका क्षेत्रीय सभापति गुरुङको आपत्ति


पोखरा – नेपाल तरुण दल कास्की क्षेत्र नं. ४ का क्षेत्रीय सभापति मीनबहादुर गुरुङले आफूमाथि कांग्रेसले कार्वाही गरेको भन्ने समाचारबाट आफू आश्चर्य चकित भएको बताएका छन् । आइतबार पोखराबाट प्रकाशित तथा प्रसारित छापा, अनलाइन तथा विद्युतीय संचार माध्यमहरुमा ‘कांग्रेस क्षेत्रीय समितिका छ जना कार्वाहीमा’ भन्ने समाचार बाहिर आएको थियो ।

आफूमाथि कार्वाही गरिएको समाचार बाहिर आएपछि गुरुङले आइतबार एक विज्ञप्ति प्रकाशित गरि आफू तरुणदलको क्षेत्रीय सभापति र नेपाली कांग्रेसको जिम्मेवार सिपाही भएको भन्दै चुनावमा आफू कुनै बागी उम्मेदवारको प्रचार–प्रसार समितिको संयोजक नभएको स्पष्ट पारे ।

उनले आफूमाथि लगाइएको आरोप ‘कालले म¥यो, जिब्रोलाई दोष’ जस्तो भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ–‘ममाथि लगाइएको आरोप ठीक साँचो थियो भने मसँग किन स्पष्टिकरण सोधिएन र सचेत बनाइएन ? कालले म¥यो जिब्रोलाई दोष भन्ने नेपाली उखान जस्तै निर्वाचनमा पराजय भोगेपछि आफ्नो जिम्मेवारीबाट पन्छिन क्षेत्र नम्बर ४ को क्षेत्रीय प्रचार–प्रसार समितिले यो हतकण्डा अपनाएको म यहाँनेर स्पष्ट पार्न चाहन्छु ।’

कार्वाही वा आरोप लगाउनु गर्नुपूर्व एक पटक सफाइको मौका दिनुपर्ने विज्ञप्तिमार्फत उनले स्पष्ट पारे । ‘प्रजातान्त्रिक पद्धति र कानूनी राज्यको सच्चा हिमायती नेपाली काँग्रेसका जिम्मेवार भनाउँदा व्यक्तिलाई थाहा हुनु पर्ने हो, कुनै व्यक्तिमाथि कार्वाही वा आरोप लगाउँदै गर्दा उसलाई एक पटक सफाइको मौका दिनैपर्छ’–विज्ञप्तिमा उल्लेख छ।
नेपाली काँग्रेसको नियमावलीको विभिन्न परिच्छेदमा ‘जिल्ला अनुशासन समितिले छानविन र निर्णय गर्दा सम्बन्धित व्यक्तिलाई सुनुवाईको मौका दिनुपर्नेछ’ भन्ने उल्लेख गरेको गुरुङले विज्ञप्तिमार्फत स्पष्ट पारे ।

उनले यस नियम अनुसारको अधिकार प्रयोग क्षेत्रीय समिति तथा जिल्ला कार्यसमितिलाई नभएको समेत बताए । ‘कार्वाहीको ढ्वाङ फुक्ने क्षेत्रीय समितिका गुटवादी मित्रहरुसँग सोध्न चाहन्छु, पार्टीको नियमावलीलाई खिल्ली उडाएर कार्वाही गर्ने नैतिक साहस कहाँबाट जुटाउनुभयो ?’ उनले प्रश्न गरेका छन् ।

आफूहरुलाई गरिएको भनिएको कार्वाहीप्रति निन्दा र भत्र्सना गर्दै कार्वाही तत्काल फिर्ता लिन माग गर्दै गुरुङले काँग्रेस क्षेत्र नम्बर ४ का केही व्यक्तिको अधिनायकवादी शैलीबारे अबिलम्ब छानविन गरी आफूमाथि भएको कार्वाही निर्णय तत्काल रोक्न कास्की काँग्रेससँग आग्रह गरेका छन् । साथै उनले कार्वाहीबाट उत्पन्न परिस्थितिबाट कत्तिपनि विचलित नभई पार्टी र संगठनको हरेक कार्यहरुमा सक्रियतापूर्वक लाग्न तरुण दलका नेता तथा कार्यकर्तासंग आग्रह गरेका छन् ।