नारायणगढ मुग्लिन सडकखण्डको पहिरोमा परी दुई प्रहरीको मृत्यु,२ प्रहरी जवान र गाडी वेपत्ता


चितवन – पहिरोका कारण अवरुद्ध चितवनको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै २० घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार राति आएको पहिराले अवरुद्ध बनेका राजधानी काठमाडौंको लाइफलाइन नारायणगढ मुग्लिन सडकखण्ड शुक्रवार साँझ ६ बजेबाट सञ्चालनमा आएको हो ।

पहिरो गएको ४ किलो र कालीखोला र चेपाङ डाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए । ४ किलो पहिरो प्रभावित क्षेत्र हो । तर, यसपटक पहिरो आएर मानविय क्षतिसमेत भएको स्थान भने बिल्कुलै नयाँ ठाँउ हो ।

यसअघि कहिल्यै नखसेको ठाउँ कालीखोला र चेपाङ डाँडाको बीचमा पहिरो झर्दा इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नं को प्रहरीसहितको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक बगाएर त्रिशुली नदीमा झारेको छ ।

पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी नायव निरीक्षक धादिङ खनियावास गाउँपालिका – ४ बस्ने २९ वर्षका प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया- ६ बस्ने वर्ष ३० का प्रहरी जवान दीपककुमार मास्केको मृत्यु भएको छ ।

२ जना प्रहरी जवान र प्रहरीको गाडी वेपत्ता छ । वेपत्ता हुनेमा पहिरोमा मकैसिंह – १ बस्ने वर्ष ३१ का प्रहरी जवान लीलबहादुर चेपाङ र तनहुँ भानु नगरपालिका ११ का वर्ष २१ को प्रहरी सन्दिप कार्की छन् ।

गाडीसहित २ प्रहरी नदीमा नै वेपत्ता भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए । ‘दिनभर खोजियो भेटिएन, नदीमै प्रहरी गाडी गएको थाहा भयो, अब शनिबार बिहानैबाट गोताखोरहरुको सहायतमा खोजी गरिन्छ’ प्रमुख पन्तले भने ।

२ प्रहरीको शव नदी किनारमा पुरिएको अवस्थामा फेला परेको थियो । प्रहरीको सवारी पनि पहिरोमा नै पुरीएको हुनसक्ने भन्दै खोजी भैरहेको छ । ना ५ ख ७८२७ नं को ट्रकसमेत त्रिशूली नदीको किनारमा पूर्णरुपमा क्षति भएको अवस्थामा छ ।

दुई प्रहरी र गाडी हराएकाले माटोमा पुरिएको पनि हुनसक्ने आशङ्कामा सडकको पहिरो समेत नदीमा सिधै नफाली गाडीमा हालेर अन्यत्रै फालेर सडक खुलाइएको हो । दिनभर नै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापा, ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त घटनास्थलमा नै खटिएर खोजीमा जुटेका थिए ।