प्याराग्लाइडिङ उडानको क्रममा फेवातालमा खसेर एक जनाको ज्यान गयो


पोखरा – प्याराग्लाइडिङ उडानको क्रममा फेवातालमा खसेर एक जनाको ज्यान गएको छ । सोमवार दिउसो करिब २ बजे तालमा खसेर प्याराग्लाइडिङ पाइलट प्रभात सुवेदीको ज्यान गएको हो ।

ब्लु स्काई फ्लाईङ स्कुल मार्फत तीन दिने सेफ्टी कोर्षमा सहभागी उनको अन्तिम दिनको अन्तिम उडानमा ज्यान गएको हो । सराङकोटबाट उडान भरेर आपतकालिन अबतरणको अभ्यासका क्रममा तालमा खसेका उनले तत्काल मृत्यु भएको हो । पोखरा लेखनाथ ३३ का २७ बर्षीय सुवेदी बाबा फ्लाईङ स्कुलमा प्याराग्लाईडिङ प्रशिक्षण पुरा गरी सोही स्कुलको सिफारिसको आधारमा ब्लु स्काई फ्लाईङ स्कुलमा प्रशिक्षण लिदै थिए ।

तालमा खसेपछि तत्काल उद्धार गरी सिर्जनाचोक स्थित मेट्रोसिटी अस्पताल ल्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।

ब्लु स्काई फ्लाइङ स्कुलका सञ्चालक नारायण पराजुलीका अनुसार तीन दिने कोर्ष अन्तर्गत कुल ९ वटा फ्लाइट पुर्याउनुपर्ने थियो । नवौ फ्लाइटको क्रममा उनी दुर्घटनामा परेका हुन् ।

यो कोर्ष अन्तर्गत प्याराग्लाइडिङ उडानको क्रममा आकाशमा भईपरी आउने आपतकालिन अबस्थामा कसरी सुरक्षित अबतरण गराउने भन्ने प्रशिक्षण दिइन्छ । जस अनुसार सराङकोटबाट उडान भरेर विचमा पुगेपछि आपतकालिन अबस्थाका पूर्व आकलन गरी सोही अनुसार ग्लाइडरको सन्तुलन आफैले बिगार्ने काम गरिन्छ । त्यसपछि आपतकालिन अबतरणको लागि प्यारासुट खोलेर तालमा अबतरण गराइन्छ । यो अभ्यासका क्रममा तालमा मोटरबोट, र्याफ्टिङ डुङ्गा र कायक तथा उद्धारकर्मी पहिल्यै तैनाथ हुन्छन् ।

‘ सेफ्टी कोर्षमा आकाशमा भईपरी आउने आपतकालिन अबस्थाको पूर्व आकलन गरी कसरी सुरक्षित अबतरण गराउने भन्ने बारे प्रशिक्षण दिइन्छ, ’ पराजुलीले पिसपोखरालाई भने ‘सोहि अभ्यासका क्रममा सुवेदीले सेफ्टी प्यारासुट फालेर झर्नुपर्ने थियो तर पहिल्यै ब्याल्क आउट भए । ’

ग्लाइडरको सन्तुलन विगारेपछि प्यारासुट फाल्न ढिलाई भएका कारण उनी एक्कासी तालमा खसेका हुन् । ‘ यो प्रशिक्षणका क्रममा सेफ्टी प्यारासुट खोलेर सबै तालमै खस्ने हो र उद्धारको लागि बसेको मोटरबोट लगायतका टोलीले बाहिर निकाल्ने हो, ’ पराजुलीले भने ‘ सुवेदीले प्यारासुट खोल्न खोजेका हुन् तर भ्याएनन् । ’ सुवेदी सहित कोर्षमा ९ जना सहभागी थिए ।