कांग्रेस सहमतिको बाधक : केपी शर्मा ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहमतिको बाधक भएको बनेको आरोप लगाएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अन्य दल सहमतीय सरकारको लागि तयार भएपनि कांग्रेस मात्रै बाधक बनेको आरोप लगाए ।

सहमति पनि हुन नदिने र मधेशीलाई उक्साउने, भड्काउने काम कांग्रेसले गरेको उनको आरोप छ । सहमतीय सरकार अहिलेको आवश्यता भएको भन्दै ओलीले एमालेलाई प्रधानमन्त्री नै चाहिन्छ भन्ने नभएको र जसको पक्षमा सहमति जुट्छ उही प्रधानमन्त्री हुने स्पष्ट पारे ।

ओलीले जोसुकैको नेतृत्वको सरकार आएपनि चुनाव नगराई सुख नपाउने समेत उल्लेख गरे । उनले राजपालाई देखाएर कांग्रेस–माओवादी केन्द्रले निर्वाचन टार्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सरकार र सरकारबादी दलहरुले जेठ ३१ गतेको निर्वाचन सार्ने र टार्ने काम गरिरहेको भएपनि कुनैपनि हालतमा तोकिएकै समयमा हुनुपर्नेमा उनको जोड छ ।

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रको वर्तमान गठबन्धन सरकार राष्ट्रिय जनता पार्टी (राजपा) बाटै सञ्चालित भएको आरोप लगाए । प्रतिपक्ष एमाले भने अहिले सरकार जस्तो भएको उनको दावि छ । ओलीले सरकारलाई हात्ती र राजपालाई माउतेको संज्ञा समेत दिए ।