पोखरामा चुनावी प्रचारका लागि कांग्रेसको पदयात्रा


पोखरा- निर्वाचन आचारसंहित अनुसार चुनावी प्रचारका लागि एक दिन मात्र समय बाँकी रहदा पोखरा लेखनाथ महानगरका उम्मेदवारहरुले प्रचार अभियानलाई तिब्रता दिएका छन् । घरदैलो र वडा स्तरीय चुनावी सभामा सहभागी हुदै आएका पोखरा महानगरका कांग्रेस उम्मेदवार बुधवार विहान एक साथ सडकमा देखिए ।

प्रचारका क्रममा आयोजना गरिएको पदयात्रामा महानगरको लागि कांग्रेसको तर्फबाट मेयर, उपमेयरका उम्मेदवार सहित ३३ वटै वडाका उम्मेदवारहरु उपस्थित थिए । कांग्रेस कास्कीको पार्टी कार्यालय चिप्लेढुङ्गाबाट सुरु भएको पदयात्रा महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सभागृह, न्यूरोड हुदै पुन: चिप्लेढुङ्गामै आएर टुङ्गिएको थियो ।

पदयात्रामा कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला, अर्का केन्द्रिय सदस्य एबं स्वास्थ्यमन्त्री गगन थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद यज्ञ बहादुर थापा, शारदा पौडेल सहित जिल्ला स्तरीय नेताहरुपनि सहभागी भएका थिए ।

पदयात्रापछि आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कोइरालाले पोखरा महानगरको सुशासन र संबृद्धीका लागि कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताए ।

स्वास्थ्यमन्त्री समेत रहेका केन्द्रिय सदस्य गगन थापाले जात र धर्मको नाममा अर्को द्धन्द सिर्जना गर्ने प्रयत्न भैरहेको आरोप लगाए ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले पोखराको मेयरका लागि भएको राष्ट्रिय सहमति अनुसार माओबादी केन्द्रले साझा उम्मेदवार मानेकाले कांग्रेसको जित सुनिश्चित रहेको बताए ।

कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ चुनावी मैदानमा छन् ।

चुनावी प्रचारका क्रममा एमालेले पनि विहिवार मेयर र उप मेयरका साथै महानगरका सबै उम्मेदवारका साथमा पदयात्रा कार्यक्रम तय गरेको छ ।

काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने – बरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने बताएका छन् ।  नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ मा आज आयोजित चुनावी सभामा बोल्दै उनले काँग्रेसकै नेतृत्वमा देशले नयाँ संविधान प्राप्त गरेका कारण अब राष्ट्रिय समृद्धि र विकासका लागि कृषि क्रान्ति, जलस्रोतको उपयोग, पर्यटनको विकास आदि योजना अघि बढाइने बताए ।

पोखरा विश्वकै पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै उनले यहाँको निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तत्काल अघि बढाउँदै अन्य आवश्यकीय अन्तराष्ट्रिय स्तरका पूर्वाधार विकास गरिने बताए । प्रदेश नं ४ लाई उत्तर चीनको कोरला र दक्षिण भारतसम्म जोड्ने गरी त्रिवेणी जोड्ने योजना अघि बढाइनेमा जोड दिदै उनले तनहुको भिमाददेखि जम्मा डेढ घण्टाको समयमा भारतको सिमा त्रिवेणी जोड्ने गरी सडक मार्ग निर्माण गरिने बताए ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले देशका सबैखाले समस्याको समाधान गर्न सक्ने पार्टी नेपाली काँग्रेस भएको बताउँदै हिमाल पहाड र तराई सबैलाई मिलाएर लैजाने तागत केवल काँग्रेसमा रहेको बताए । नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवम् सांसद यज्ञबहादुर थापाले महानगरमा काँग्रेसको विजय सँगै लेखनाथको सिलिङ्गेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण, लेखनाथका सातवटै ताललाई जोड्ने सडक सञ्जाल, लामेआहालमा निर्माणाधिन क्षेत्रीय वसपार्क निर्माण लगायतका योजना प्राथमिकताका साथ अघि बढाइने बताए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवले समृद्ध पोखराको निर्माणको योजनाका साथै महानगर एवम् यहाँका वडाको विकासका लागि घोषणापत्रमा उठाइएका विकास योजनालाई अघि बढाउने विश्वास व्यक्त गरे ।
उपप्रमुख पदका उम्मेदवार सरस्वती गुरुङले महानगरका प्रत्येृक वर्ग र समूदायका साथै हरेक वस्तीका आवश्यकता समेट्ने गरी विकासका योजना अघि बढाउने उल्लेख गरे ।

कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार पूर्ण कुमार गुरुङ, काँग्रेस नेता राजेन्द्रमणि लामिछाने, सदस्यका उम्मेदवार शेखरनाथ लामिछाने लगायतले वडा भित्रका बाटोघाटोको स्तरोन्नति एवम् विस्तार, खानेपानी्, सरसफाई लगायतका आवश्यकतालाई तत्काल सम्बोधन गर्ने गरी विकास अघि बढाउने विश्वास व्यक्त गरे । उक्त अवसरमा विगतमा विभिन्न दलमा रहेका पार्टीका कार्यकर्तालाई बरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका थिए ।