चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई कुवेतमा जन्मकैद


काठमाडौं – कुवेतमा तल्लो अदालतबाट मृत्युदण्ड सजाय सुनाइएका चितवनका जीवन रानाभाट र कास्कीका पदम गुरुङलाई पुनरावेदन अदालतले जन्मकैद सजाय दिने फैसला गरेको छ ।

काठमाडौंका आङलाक्पा शेर्पालाई ४ बर्षको सजाय तोकिएको छ । यसअघि शेर्पा रानाभाट र गुरुङलाई तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । अनीहरुले आफैं वकिल राखेर मुद्दा लडेका थिए ।

मृत्युदण्डकै फैसला सुनाइएका बाँकेका तारामान श्रेष्ठ निमा शेर्पाले पनि पुनरावेदनमा अपिल गरेका छन् । उनीहरुको फैसला आउन बाँकी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

उनीहरुलाई प्रहरीले लागूऔषध कारोबारको अभियोगमा मुद्दा चलाएका थिए । प्रहरीले रानाभाटलाई दुई वर्षअघि पक्राउ गरेको थियो भने बाँकीलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषधको कारोबारको मुद्दा चलाएको थियो ।

कुवेतमा एक महिलासहित १५ जना जन्मकैद सजाय पाइसकेका छन् । आजीवनको सजाय पाएका सिन्धुपाल्चोकका सजन कार्कीले गरेको अपिल उच्च अदालतले खारेज गरिदिएको छ । सजनको परिवारले दुईजना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेको बेला पक्राउ परेको जानकारी पाएको बताए । कुवेतमा ६१ जना जेलमा रहेकामध्ये ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन आरोपमा अदालतमा मुद्दा चलिरहेको नेपाली दूतावासले जनाएको छ ।