युरोपभरका प्रतिभावान कलाकारहरु डेनमार्क उत्रदै


बार्सिलोना/अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले युरोपभरका प्रतिभावान नेपाली कलाकारहरुलाई डेनमार्क उतार्ने भएको छ। युरोपस्तरीय नृत्य र गायन प्रतियोगिताको आयोजना गर्दै ईनासले युरोपका बिभिन्न मुलुकमा छनोट भएका कलाकारहरुलाई कोपेनहेगन उतार्न लागेको हो। प्रतियोगितामा बेलायत, बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, पोल्याण्ड, इटाली,स्पेन,पोर्चुगल,डेनमार्क,स्विजरल्याण्ड,चेकगणतन्त्र लगायतका देशहरुबाट कलाकारहरु प्रतिस्पर्धामा उत्रने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज डेनमार्क र युरोप शाखाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै ‘इनास युरोप डान्सिङ्ग तथा सिङ्गिङ्ग स्टार २०१७’ को प्रतिभा खोजि गर्ने छन्।त्यसो त ईनासको यो पाँचौ यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य तथा दोश्रो एकल नेपाली गायन प्रतियोगिता हो।

युरोप स्तरीय कार्यक्रमलाई सफल पार्नको लागि नेपालकै चर्चित कलाकारहरु पनि सहभागी बन्दै छन्। कार्यक्रममा चर्चित गायक राजेश पायल राई, गायिका शर्मिला बर्देवा लगायत युरोपमा नै ख्याति कमाएका नेपाली कलाकारहरु पनि सहभागी बन्ने भएका हुन्। कार्यक्रमबाट नेपाल पर्यटन बोर्डले शुरु गरेको ‘नेपाल भ्रमण वर्ष २०१७ युरोप’ लाई पनि सहयोग पुग्ने अपेक्षा ईनासले राखेको छ।

अप्रिल १३ र १४ तारिख हुने कार्यक्रमको पहिलो दिन ईनासको पाँचौं यूरोप क्षेत्रीय बैठक पनि बस्दै छ।इनास ग्लोबल, युरोपको समिति तथा राष्ट्रिय समितिका पदाधिकारीहरुले बैठकमा भाग लिदै छन्। दोस्रो दिनले सांगीतिक माहोल मात्र हैन यस बर्षको युरोप डान्सिङ्ग तथा सिङ्गिङ्ग स्टार छनोट गर्ने छ।