बिषालु जंगली च्याउ खाँदा पोखरा लामाचौरका एकै परिवारका तीनको मृत्यु


पोखरा – बिषालु जंगली च्याउ खाँदा पोखरा लामाचौरका एकै परिवारका तीनको मृत्यु भएको छ । बिषालु च्याउको सेवनबाट पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १६ लामाचौरमा एक बृद्धा, एक युवती र एक वालकको ज्यान गएको हो ।

नजिकैको जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेका मध्ये उपचारका क्रममा दुईको बुधवार र बालकको विहिवार ज्यान गएको हो । बिषालु च्याउ खाएर गम्भिर बिरामी परेकी १९ बर्षीय मनमाया तामाङको बुधवार साझ पाँच बजे उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको थियो । त्यस्तै थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएकी ६० बर्षीया माइली तामाङको राती साढे ९ बजे ज्यान गयो । बृद्धा माइलीकी जेठी छोरीका कान्छा छोरा ८ बर्षीय सोनम मगरको उपचारकै क्रममा विहिवार विहान साढे ११ बजे ज्यान गएको डिएसपी खडग बहादुर खत्रीले पिसपोखरालाई बताए ।

च्याउ खाएर गम्भिर बिरामी परेका मृतक सोनमका दाइ १२ बर्षीय आयुष मगरको कान्ति बाल अस्पतालमा उपचार भैरहेको छ । पोखरामा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको हो । उनको अबस्था गम्भिर छ ।

गत चैत १९ गते मनमायाले स्थानीय अकला मन्दिरको दर्शसँगै नजिकैको जंगलबाट ल्याएको च्याउ बेलुकी परिबारका चारै जनाले खाएका थिए । त्यसै दिनदेखि झाडापखाला लागेका उनीहरुले स्थानीय मेडिकलबाट पखालाको औषधि खाएर बसेका थिए ।

च्याउको बिषले गम्भीर असर गर्न थालेपछि उनीहरुमध्ये माइलीलाई मनिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक मेमोरियल अस्पतालमा भर्ना गरियो भने आयुषलाई काठमाडौं रिफर गरिएको थियो ।