संविधान संसोधन प्रस्ताव फेल गराउने एमाले बरिष्ठ नेता माधव कुमार नेपालको जिकिर


पोखरा – पूर्व प्रधामन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा दर्ता भएको संविधान संसोधन प्रस्ताव पारित हुने कुनै संभावना नरहेको दावि गरेका छन् । एक तिहाई भन्दा बढी मत नेकपा एमाले सहितको ९ दल सँग रहेकाले सोहि मतले संसोधन प्रस्ताव फेल गराउने उनको जिकिर छ ।

प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संसोधन प्रस्ताव देश र जनताको हितमा नरहेकाले एमाले सहितको संख्याले पास हुन नदिने उनले स्पष्ट पारे । संसोधन प्रस्ताव प्रक्रियामा टुङ्गो लागे मधेशी दलहरुले राजिनामा दिने भनेपनि यो प्रस्ताव पारित भए देश डुब्ने खतरा रहेकाले एमालेले कुनैपनि हालतमा पास हुन नदिने उनको स्पष्टोक्ति छ ।

प्रधानमन्त्री प्रचण्ड नेकपा एमाले सहित ९ दल र राप्रपाको पनि विमत्ती सुन्दा सुन्दै सर्वस्विकार्यतालाई त्यागेर कसैलाई खुसी पार्न अघि बढेको उनले आरोप लगाए । संसोधनको माग मधेशी जनताको नभई मधेश केन्द्रित भएका पार्टीले बनाएको उनले टिप्पणी गरे ।

स्थानिय निकाय निर्वाचन तोकिएको समय हुने होकि होईन भन्ने आशंका जायज रहेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले कुनैपनि हालतमा निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औल्याए ।

निर्वाचन आयोग र दलहरु निर्वाचन तयारीमा जुटिसकेकाले यसबारे शंका गर्न आवश्यक नरहेको उनले बताए । संविधान संसोधनको विषयसँग निर्वाचनलाई जोड्न नहुने उनले बताएका छन् । मधेसी मोर्चाले घुर्की लगाएपनि निर्वाचनबाट भाग्न नसक्ने नेता नेपालको विश्वास छ ।