स्पेनमा नेपाली दूताबास खोल्ने सरकारको निर्णय


बार्सिलोना/ लामो समय देखि स्पेनबासी नेपालीहरुको राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले स्पेनमा नेपाली दूतावास खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको हो। स्पेनका लागि सरकारले भरत रायमाझीलाई राजदूतमा सिफारिस समेत गरेको छ ।

बिगत एक दशक देखि यहाँ स्थित नेपालीहरुले बिभिन्न समस्याहरु झेल्नु परेको भन्दै दूताबास स्थापनाको माग गर्दै आएका थिए। गैर आबासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेन स्थित राजनीतिक,क्षेत्रीय,जातीय संघ सस्था तथा पत्रकारहरुले दूताबासको माग गर्दै पटक पटक ज्ञापनपत्र समेत बुझाएका थिए। बिभिन्न समयमा राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्री देखि शिर्ष नेताहरुलाई दूताबासको माग गर्दै ज्ञापनपत्र बुझाउँदै आए पनि मन्त्रीपरिषदमा छलफल समेत हुन सकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले दूताबास स्थापना गर्ने निर्णय गर्दै राजदूत समेत सिफारिस गरे पछि स्पेनबासी नेपालीहरु निकै उत्साहित भएका छन्। पटक – पटक आलोचना खेप्दै आएका परराष्ट्रमन्त्री प्रकाश शरण महतले अन्तत: दूताबास खोल्ने निर्णयसम्म पुग्दै आफ्नो प्रतिबद्दतालाई पुरा समेत गरेका छन्।

उनले स्पेन आउँदा अनाबश्यक ठाउँमा सरकारले खोलेका दूताबास दूताबास बन्द गरेर भए पनि स्पेनमा खोल्नु पर्ने अभिव्यक्ति दिएका थिए। आँफूले बोलेको कुरा परराष्ट्रमन्त्रीको जिम्मेबारी सम्हाले पछि पनि पुरा नगरेको भन्दै डा.महतको आलोचना हुँदै आएको थियो।