पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन विहिवार र शुक्रवार हुने,पश्चिमाञ्चलका सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न


पोखरा – मंगलबार नेपाल प्रेस यूनियनको अवरोधका कारण स्थगित नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन विहिवार र शुक्रवार हुने भएको छ । पूर्वनिर्धारित मिति फागुन ३ मा हुन नसकेपछि स्थगित अधिवेशन फागुन ५ र ६ गते गर्ने निर्णय भएको पत्रकार महसंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बताए ।

महासंघको बुधवार बसेको बैंठकले अधिवेशनको अर्को मिति तय गरेको हो । जस अनुसार विहिवार दिउसो १ बजेपछि उद्घाटन सत्र सुरु हुने र सोहि दिन उम्मेदवारको मनोनयन दर्ता हुनेछ । शुक्रवार विहान ७ बजेदेखि नयाँ नेतृत्वका लागि मतदान सुरु हुने महासंघका अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
प्रेस युनियनले सदस्यता विवाद देखाउदै अधिवेशनमा अवरोध गरेपछि स्थगित भएको गरिएको थियो । देशका विभिन्न जिल्लामा सदस्यता विवाद रहेको भन्दै त्यसको समाधान गरेर मात्रै अधिवेशन गर्न माग गदै महासंघमा तालाबन्दी गर्ने धम्की दिएपछि मंगलबार स्थगित भएको थियो ।

कास्कीमा प्रेस चौतारी, प्रेस सेन्टर , प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठन प्यानल बनाएर चुनावमा होमिएका छन् । गठबन्धनबाट अध्यक्षमा प्रेस चौतारीका दिपेन्द्र श्रेष्ठ उमेदवार छन् भने युनियन र स्वतन्त्र पत्रकार महासंघको प्यानलबाट युनियनका रमेश पौडेल अध्यक्षको प्रतिश्पर्धी छन् । अधिवेशनले आगामी तिन वर्षको लागी नेतृत्व चयन गर्ने छ । अधिवेशनले १९ सदस्यीय कार्यसमिति, ३२ केन्द्रीय पार्षद र ४२ प्रदेश पार्षद चयन गर्ने छ ।
पश्चिमाञ्चलका सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ अन्तर्गत पश्चिमाञ्चलका सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न भएको छ । महासंघको कार्यतालिका अनुसार मंगलबार पश्चिमाञ्चलका सात जिल्ला शाखामा अधिवेशन भएको हो ।

सातमध्ये चार जिल्ला शाखामा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीका उम्मेदवारले नेतृत्त हात पारेका छन् । त्यस्तै दुई जिल्लामा नेपाली कांग्रेसनिक प्रेस युनियन र एक जिल्लामा माओवादी केन्द्रनिकट प्रेस सेन्टरका उम्मेदवार नेतृत्वमा आएका छन् ।

प्रेस चौतारीले गुल्मी, बाग्लुङ, म्यादी र लमजुङमा नेतृत्व हात पारेको छ । ती जिल्लाहरुको अध्यक्षमा क्रमशः नवराज भुसाल, दीलश्रीस मगर, तारानाथ शर्मा र आश गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै गोरखामा प्रेस युनियनका उम्मेदवार किशोरजंग थापा र पर्वतमा छाविलाल तिवारी अध्यक्ष चुनिएका छन् । रुपन्देहीमा प्रेस सेन्टर र प्रेस चौतारीको संयुक्त प्यानलबाट सेन्टरका ज्ञानेन्द्र जिसी नेतृत्वमा आएका छन् ।