पोखरा रगंशालामा अन्तराष्ट्रिय मापदण्डको ब्याडमिन्टन कर्भड हल निर्माण हुने


पोखरा – पोखरा रगंशालामा ३ करोड ५० लाखको लागतमा अन्तराष्ट्रिय मापदण्डको ब्याडमिन्टन कर्भड हल निर्माण हुने भएको छ । कास्की जिल्ला व्याडमिन्टन संघले निर्माण गर्न लागेको उक्त हलको बुधबार शिलान्यास गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले शिलान्यास गरे ।

कार्यक्रमा बोल्दै विष्टले १३ औ सागका केही खेलहरु पोखरामा गरिने बताउदै ब्याण्डमिन्टको कर्भड हल निर्माणसंगै पोखरामा हुने बताए । साफका केही खेल मध्ये व्याडमिन्टनलाई पनि पोखरामा गर्न सकिने बताउदै निर्माणको आधा लगानी राष्ट्रिय खेलकुद परिषदले गर्ने बताए । उनले सबै क्षेत्रमा सरकारको मात्रै लगानी नहुने बताउदै संघले पनि गर्नुपर्ने बताए । ‘हामीले भन्ने गरेका छौं सरकार र तपाईको लगानी ५०—५० % हुनुपर्छ ।’ सदस्य सचिव विष्टले पोखरालाई स्पोर्ट्स सिटीको रुपमा विकास गर्नुपर्नेमा जोड दिदै कभर्ड हल निर्माणमा दीर्घकालिन योजना भन्दा फरक रहेको भन्दै गुरु योजना समय अनुकुल परिवर्तन हुने र भौतिक पुर्वाधारलाई केवल शिलान्यासमा मात्रै सिमित राख्न नहुने स्पष्ट पारे ।

कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले साढे दुई रोपनी क्षेत्रफलमा हल निर्माण हुने बताए । पोखरा रंगशालाभित्र २०४० सालमा निर्मित व्याडमिन्टन कभर्ड हल छ । जुन कभर्ड हलमा प्रशिक्षणदेखि प्रतियोगितासम्मका गतिविधि हुदैं आएको छ । तीन करोड ५० लाखको लागतमा चार कोर्टसहितको व्याडमिन्टन कर्भड हल निर्माण हुने छ । नयाँ कभर्ड निर्माण पछि भईरहेको व्याडमिन्टन कोर्ट रहेको हललाई मार्शल आर्ट विल्डिङ बनाउने योजना छ । २० मिटर चौडाई र ४० मिटर लम्बाई बराबर जग्गाको क्षेत्रफल व्याडमिन्टन संघलाई हल बनाउन स्वीकृति आएको छ । नक्सांकन अनुसार चार वटा कोर्ट, चेन्जिङ रुम, संघको कार्यालय, शौचालयसहितको पुर्वाधार बन्ने छ ।

कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरा खेलकुदको राजधानी भएको बताउदै भौतिक पूर्वाधारमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले पोखरा रंगशालाको गुरु योजना समय सन्दर्भ फेरिदैं जाने भन्दै पुर्वाधार बनाउँदै खेलकुदको विकासमा सबैले सहयोग गर्नुपर्ने बताए । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले स्वास्थ्यका लागि खेलकुद भएपनि राष्ट्रका लागि खेलकुद हुन नसकेको भन्दै खेलाडी उत्पादन गर्ने तर्फ विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए ।