स्पेनमा दूताबास खोल्न,परराष्ट्रमन्त्रीलाई दबाब दिईदै


परराष्ट्रमन्त्री डा. महतले बेल्जियमका आफ्ना समकक्षीलाई भेट गर्दै गर्दा,तस्बिर स्रोत:- नेपाली दूताबास बेल्जियम

बार्सिलोना/ स्पेनमा नेपाली दूताबास स्थापनाका लागि परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतसँग जोडदार माग गरिने भएको छ। युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गको उच्चस्तरीय भ्रमणका लागि युरोप आएका मन्त्रीलाई भेटेर दबाब दिन लागिएको हो।

परराष्ट्रमन्त्री डा. महतसँग भेट बार्ताका लागि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा स्पेनका लागि पर्यटन दूत एकराज गिरी,नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटन दूत चिन्तामणी सापकोटा र नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे बेल्जियम पुगेका छन्। यस अघि नेपाली जनप्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष रमेश आशिकी पौडलले समेत मन्त्रीलाई भेटेर सोमबार ज्ञापनपत्र बुझाईसकेका छन्।

डा. महतले यस अघि स्पेनमा आउँदा नेपाली दुताबास स्थापना गर्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए। डा. महतले  कतिपय मुलुकमा सरकारले विचारै नपुर्याई दुताबास खोलेको भन्दै त्यस्ता ठाउँमा बन्द गरेर स्पेनमा नेपाली दुताबास स्थापना गर्नु पर्ने समेत बताएका थिए।

उनले भनेका थिए,”दक्षिण अफ्रिका,ब्राजिल जस्ता मुलुकमा दुताबासको आबस्यकता नै छैन त्यस्तो ठाउँमा बन्द गरेर यहाँ स्थापना गर्नु पर्छ।” उनै डा. महतले परराष्ट्र मन्त्रालय सम्हालेका छन् तर आफ्नै बोलीलाई ब्यबारमा लागु गर्न माग गर्दै स्पेनबासी नेपाली समुदायले दबाब दिदै आएका छन्।

स्पेन वा पोर्चुगल एक ठाउँमा दूताबास खोल्नु पर्ने भन्दै सरकारमा नै बहस चलिरहेको बेला स्पेनबासी नेपालीहरु कस्सिएका छन्।दूताबासको माग गर्दै आएका एक अभियन्ता भन्छन्, “स्पेनमा दूताबासको आबश्यकता बारेको बहस अहिलेको हैन,करिव दशक अगाडि देखिको माग हो,कुटनितिक सम्बन्ध स्थापित गर्न होस् वा नेपालको पर्यटन क्षेत्रको बिकासको लागि होस् यहाँ दूताबासको आबश्यकता छ।”

१० हजार भन्दा बढी नेपालीहरु बसोबास गर्ने स्पेनबाट नेपालले बिशेष गरी पर्यटन क्षेत्रमा ठुलो फाईदा उठाउँन सक्ने बताईन्छ। बिगतका तथ्याङ्कलाई हेर्दा बेलायत,फ्रान्स र जर्मनी पछि युरोपबाट धेरै पर्यटकहरु पुग्ने देशमा स्पेनको नाम आउँछ। सन् २००३ देखि सन् २०१५ सम्म बर्षेनी नेपाल पुग्ने स्पेनिसहरु औसत संख्या १२ हजार भन्दा बढी रहेको छ। यो अबधिमा करिब १ लाख ६० हजार स्पेनिस पर्यटकहरु नेपाल घुमिसकेका छन्। स्पेनमा नेपाली दूताबास नभए पनि यो संख्या अन्य दूताबास भएका मुलुकहरु बेल्जियम,डेनमार्क, स्बिजरल्याण्ड भन्दा दोब्बर वा त्यो भन्दा पनि बढी हो।

नेपालीको संख्या दिनानु दिन बढ्दै गएको,परिबार पुनर्मिलनको क्रममा दिल्लीमा समस्या झेल्नु पर्ने लगायत थुप्रै झन्झटहरुले पनि स्पेनबासी नेपालीहरुले दूताबासको माग गर्दै आएका हुन्।