बार्सिलोना कोपा डेल रे कप फुटबलको फाइनलमा


बार्सिलोना/ बार्सिलोना कोपा डेल रे कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको तनावपूर्ण खेलमा एथ्लेटिको मड्रिडसँग १-१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ३-२ ले विजयी भएको छ । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले ४३ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो ।

५७ औं मिनेटमा सर्जी रोबर्टोले रातो कार्ड पाए र बार्सिलोना १० खेलाडीमा सिमित भयो । ६९ औं मिनेटमा एथ्लेटिको मड्रिड पनि १० खेलाडीमा सिमित भयो । उसका करास्कोले रातो कार्ड पाए ।

खेलको ८३ औं मिनेटमा गेमिरोले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल फर्काए । अन्तिम मिनेटमा बार्सिलोना ९ खेलाडीमा सिमित भयो ।  स्वरेजले दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।