स्पेनबाट नेपाल पुग्ने पर्यटकहरु आधा घटे, खै कसले राख्यो चासो ?


तस्बिर साभार:- नेपाल पर्यटन बोर्डको साईटबाट

बार्सिलोना/ स्पेनवाट नेपाल पुग्ने पर्यटकहरुको संख्या आधाले कम भएका छन्। सन् २०१४ मा १३ हजार १ सय १० जना नेपाल पुगेको पर्यटकहरु घटेर सन् २०१५ मा भने ६ हजार ७ सय ४१ मा झरे।  नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको आफ्नै तथ्याङ्क अनुसार १४ बर्षको ईतिहासमा स्पेनवाट नेपाल पुग्ने पर्यटकहरु यति धेरैको संख्यामा कम भएको यो पहिलो पटक हो।

सन् २०१५ मा भूकम्प गएको कारणले यति ठुलो संख्यामा गिरावट आएको अनुमान छ। बिनाशकारी भूकम्पमा परि केहिँ स्पेनिस पर्यटकहरुले समेत ज्यान गुमाएका थिए।  तर सन् २०१६ मा भने नेपाल पुग्ने स्पेनिसहरुको संख्यामा सुधार आएको अपेक्षा गरिएको छ।

बर्षेनी स्पेनबाट कति जान्छन् पर्यटकहरु ?

बिगतका तथ्याङ्कलाई हेर्दा बेलायत,फ्रान्स र जर्मनी पछि युरोपबाट धेरै पर्यटकहरु पुग्ने देशमा स्पेनको नाम आउँछ। सन् २००३ मा ८  हजार २ सय ६५ जना,सन् २००४ मा ११ हजार ७ सय ६७ जना, सन् २००५ मा ८ हजार ८ सय ९१ जना, २००६ मा १० हजार ३ सय ७७ जना र २००७ मा १५ हजार ६ सय ७२ जना पर्यटकहरु नेपाल पुगेको तथ्याङ्कमा उल्लेख छ।

यसै गरी सन् २००८  मा १३ हजार ८ सय ५१ जना, २००९  मा १३ हजार ६ जना,२०१०  मा १३ हजार ७ सय १२ जना २०११ मा १६ हजार ३७ जना, २०१२ मा १४ हजार ५ सय ४९ जना,२०१३ मा  १० हजार ४ सय १२ जना र सन् २०१४ मा १३ हजार १ सय १० जना स्पेनिस पर्यटकहरु नेपाल पुगेका छन्।सन् २००३ देखि सन् २०१५ सम्म बर्षेनी नेपाल पुग्ने स्पेनिसहरु औसत संख्या १२ हजार भन्दा बढी रहेको छ। यो अबधिमा करिब १ लाख ६० हजार स्पेनिस पर्यटकहरु नेपाल घुमिसकेका छन्।

स्पेनमा नेपाली दूताबास नभए पनि यो संख्या अन्य दूताबास भएका मुलुकहरु बेल्जियम,डेनमार्क, स्बिजरल्याण्ड  भन्दा दोब्बर वा त्यो भन्दा पनि बढी हो।

पर्यटन बिकासका लागि सरकारी चासो शुन्य:-

स्पेनबाट पर्यटकहरु नेपाल भित्राउँनका लागि सरकारी तबरवाट गरिने प्रयास त परको कुरा, चासो समेत राखिदैन। नेपाल सरकारले स्पेनमा लक्षित गरेर “नेपाल घुम्नका लागि उचित गन्तब्य हो” भन्ने सन्देश मुलुक कार्यक्रमहरु प्रभावकारी रुपमा अहिले सम्म गर्न सकेको छैन।  स्पेनलाई हेर्ने पेरिस स्थित नेपाली दूताबासलाई राहदानी तथा अन्य कागजपत्रको सम्बोधन गर्न भ्याईनभ्याई भएका बेला पर्यटन प्रबद्दनका कार्यक्रमहरु निकै टाढाका बिषय हुन्। त्यसो त पेरिस दूताबासलाई स्पेन सहित अन्य चार मुलुक हेर्नु पर्ने बाध्यता पनि आफ्नै ठाउँमा छ।

स्पेन स्थित नेपाली कन्सुलर,एनआरएन तथा नेपाली समुदायबाट केहि कार्यक्रमहरु हुने भएता पनि त्यसको प्रभाववाट पर्यटकहरु नेपाल नै पुग्ने गरेको पाईदैन। अर्थात् पर्यटकलाई नै  केन्द्रित गरेर प्रभावकारी कार्यक्रम हुन  सकेका छैनन्।

स्पेनमा एनआरएन लगायत अन्य  नेपाली संघ संस्थाहरु स्थापना नहुँदै सन् २००४ ताका नै ११ हजार ७ सय ६७ जना पर्यटकहरु नेपाल भित्रिएका थिए। सन् २०१५ मा भूकम्प गएको बर्ष बाहेक त्यस आघिका बर्षहरुमा खासै गिरावट आएको पाईदैन। यहिँ बाट बिश्लेषण गर्न सकिन्छ कि जति पनि स्पेनिसहरु नेपाल पुग्ने गरेका छन्,उनीहरु स्वत: रुपमा नै घुम्ने गरेका छन्। तर स्पेनमा नेपाली दूताबास स्थापना हुन सके वा उनीहरुलाई लक्षित गरी प्रभावकारी कार्यक्रमहरु गर्न सके यो संख्यालाई दोब्बर पार्ने सम्भावना देखिन्छ।

हालै नेपाल पर्यटन बोर्डले एक स्पेनिस नागरिक सहित चार जनालाई स्पेनका लागि पर्यटन दूतको रुपमा नियुक्त गरेको छ। दुई  बर्षका लागि सेवा अबधि राखेर स्पेनका लागि पहिलो पर्यटन दूत नियुक्त भएको ६ महिना बिति सक्दा पनि पर्यटकलाई लक्षित गर्दै कार्यक्रम हुन सकेको छैन। अन्य नियुक्त भएका दूतहरुले पनि कसरी चासो राख्लान् ? नेपाल पुग्ने पर्यटकको संख्या घटेको बेला आफ्नो कौशलता प्रयोग गर्लान् त ? यो भने हेर्न बाँकी नै छ।