लाप्राक बस्ती निर्माणका लागि स्वयंसेवक किन बन्ने ?


-बसन्त रानाभाट

बैशाख १२ गते देशमा महाभूकम्पको प्रलयपछि गैर आबासीय नेपालीहरु तत्काल राहत बितरणमा खटिए। एकातिर प्रवासमा राहत संकलनको कार्यले तिब्रता पायो अर्को तर्फ देश रोईरहेकोबेला पिडित समक्ष पुगेर एनआरएनहरु राहत बितरण तथा उद्दारमा पनि खटिए।

जस्तोसुकै कठिन घडीमा पनि प्रवासी नेपालीहरुले मन देखिनै देशका लागि स्वयंसेवक बन्दै आएका छन्। मिति २०७२ जेठ ७ गते नेपालीनेपाली डटकममा नै अद्यावधिक गरिएको,शेष घले धनका अरबपति कि मनका ? लेखबारे यो पङ्तीकारले आज पुन: स्मरण गराउँन उचित ठानेको छ। सर्बप्रथम त्यति बेलाको आलेखका सुरुवातमा नै पङ्तीकारले लेखेका केहि हरफहरु प्रस्तुत गर्न मन लाग्यो।

०००

“संसद भवनमा बैठक बस्दाबस्दै भूकम्प गयो,सबै भागाभाग गरे,मन्त्री परिषद्को बैठकबाट नै मन्त्रीहरु भागाभाग गरे यो कुनै अस्वभाविक कुरा नै होईन। आफ्नो जीवनको जो कोहीलाई मायाँ हुन्छ, त्यारो लाग्छ । भूकम्पले बढी जोखिम भएका क्षेत्रहरुबाट सुरक्षित स्थान तर्फ सबै जना लाग्न थाले।

भूकम्प जाँदै गर्दा एउटा अभिभावकले हातले डोराउँदै परिवारमा कति जनाको ज्यान जोगायो होला। त्यो आँफूसँगै आफ्नो सदस्यलाई गरेको मायाँ हो, उद्दार पनि हो। हामीले तस्वीरमा यो पनि देखेर रोएका छौ, एक अर्काको हात समाई रहेको अबस्थामा कति जोडीहरुले ज्यान गुमाएका छन्। मर्ने बेला सम्म पनि मायाँको तागत त्यस्तो हुने रहेछ, एक अर्काको विश्वास कति बलियो हुने रहेछ, सँगै मर्ने सँगै बाँच्ने भनिन्थ्यो त्यो त्यसै भनिएको रहेनछ।

हाम्रो आशिष लाग्छ भने घले जोडी सयौ वर्ष बाँचोस्, भूकम्पले हल्लिरहेको देशमा जोखिम मोलेर आफ्ननी पत्नी जमुना गुरुङ्को हात समाउँदै एक उद्दारक बने। पीडितलाई सिन्धुपाल्चोक, गोरखा, लमजुङ, नुवाकोट, रामेछाप, काभ्रे, दोलखा, धादिङ, रसुवा, सोलुखुम्बु लगायतका जिल्लाहरुमा पुगेर टुहुरा बनेका नेपालीहरुलाई भेटे । उनको पहिचान अस्ट्रेलियाका एक अरबपतिको भन्दा बढी नेपाली मनका अरबपति हुन् भन्दा उपयुक्त होला।

सबैलाई ज्याँनको माया त हुन्छ नै त्यसैले त भाग्नु पर्यो। भाग्नुलाई मैले अस्भाबिक ठान्दिन र ठान्न साहेद उचित पनि हुँदैन। भूकम्पले न त राष्ट्रपति भन्छ न त प्रधानमन्त्री,के गरिब के धनी ? तर गैर आबासीय नेपालीहरुले आफ्नो मनलाई कमजोर बनाएँनन् । आफू बसेको सुरक्षित देशलाई छोडेर हल्लिएकी नेपाल आमाको आँशु पुछन स्वदेश फर्किएँ । आफूलाई निडर साबित गर्दै भत्केका घरहरुमा पसे।

ज्याँनको मात्र मायाँ मान्ने भएँ प्रबासमा नै बसेर ठुलो रकम संकलन गरेर पठाउन सक्थे होला। तर त्यति बेला उद्दारको खाँचो दियो,राहतको खाँचो थियो माया ममता,धैर्यता अनि शाहसको पनि। ७.३ रेक्टर स्केलको दोश्रो ठुलो भूकम्पको सामाना राहतका खटिएका गैर आबासीयहरुले देशमा नै बसेर गरे। भूकम्पको पिडालाई नजिकबाट बुझे। अध्यक्ष शेष घले लगायत एनआरएन अभियन्ताहरु तथा स्वयंसेवकहरुलाई हार्दिक धन्यबाद,कृतज्ञता र सलाम।”

०००

पङ्तीकारले माथिका हरफहरु साभार गर्नुको कारण फेरि यस्तै किसिमको एकता, पुनर्निमाणको कामका लागि पनि दोहोरियोस् भन्नाका खातिर हो। हिजो राहत बितरण,रकम संकलन र उद्दार कार्यमा जसरी गैर आबासीयहरु बिश्वका बिभिन्न कुनाहरुबाट एकजुट बन्दै हाम फाले, छिनमा नै स्वदेश फर्के। अब स्वयंसेवक बनेर लाप्राकको गुप्सीपाखालाई पनि उठाउँने छन् भन्ने बिश्वासका साथ बिगतलाई ताजा गराईएको हो।

मिलेर गर्न सकेमा सम्भव हुने एक सफल उदाहरणलाई प्रस्तुत गरिएको हो। समय परिस्थिति अनुसार बेला बखतमा खड्किने आबश्यकताको परिपूर्तिका लागि समयमा नै सहयोग पुर्याउँन प्रेरित गरिएको हो। अझ भन्नु पर्दा गैर आबासीय नेपाली संघको ईतिहासमा नै सबैले प्रशंसा गरिएको एक सफल उदाहरणलाई पुन: दोर्हाउँन स्मरण गरिएको हो। संघले आँफैले गरेको प्रतिबद्दतालाई फत्ते गर्न प्रेरेणा मिलोस् वा जिम्मेबारी बढोस् भन्ने कामाना गरिएको हो।

बसन्त रानाभाट
बसन्त रानाभाट

लाप्राकमा पुगी स्वयंसेवकको सुरुवात अध्यक्ष घलेले आँफैबाट गरिसकेका छन्। यो नेतृत्वले देखाएको वा डो-र्याएको उत्तम बाटो हो। दशौ पटक गुम्सिपाखामा पुग्नु,आफ्नो अमूल्य समयलाई लगातार पुननिर्माणको प्रक्रिया र काममा केन्द्रित गर्नु घलेले निभाएको ठुलो जिम्मेबारी हो। पत्नी जमुना गुरुङ सहित स्वयंसेवकको रुपमा ल्होछार र नयाँ बर्ष पनि लाप्रकमा टेण्ट मुनि बिताउँनु सबैलाई स्वयंसेवक बन्न गरिएको आह्रवान हो। त्यति मात्र हैन घर निर्माणका लागि अति नै कठिन क्षेत्रमा जिम्मेबारी लिनु ,लामो कसरत पछि चीनबाट इट्टा बनाउने मेसिन ल्याई जडान गर्नु,झण्डै सात सय मिटर तलबाट पानी ल्याएर काम थाल्नु साथै पुनर्निर्माणका काम प्रक्रियालाई तिब्र पार्नुले गैर आवासीय नेपालीहरुलाई ठुलो आशा र भरोसा जागेको छ।

भूकम्प गएको करिव दुई बर्ष पुग्न लाग्यो।धेरैलाई लागेको हो यति बेला सम्म घरहरु बनिसक्नु पर्ने थियो।तर यो बीचमा तिन बटा सरकार परिबर्तन हुनु,समयमा नै घर निर्माणका लागि ढिला गरी स्विकृति पाउँनु तथा भारतले लगाएको नाकाबन्धीको कारणले गर्दा भएको अस्तब्यस्त परिस्थिति पनि ढिला बनायो। यसले एनआरएनको घर निर्माण प्रक्रिया मात्र हैन देश कै पुनर्निमाण प्रक्रियालाई ठुलो असर पार्यो। विनाशकारी भूकम्पबाट मुलुकले ब्यहोरेको आर्थिक क्षति भन्दा पनि बढी नाकाबन्दीबाट ब्यहोर्नु पर्यो।

भूकम्प पिडितको नाजुक अबस्था र मुलुकको असाधारण परिस्थितिको बाबजुत पनि राजनीतिक दलहरु बर्षौ देखि गर्दै आएको कुर्सीको लडाईलाई रत्तिभर भुलेनन्। जसले गर्दा सरकार बनाउँने र ढलाउने मात्र हैन दलका नेताहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत बनाउँने र हटाउँने खेल पनि भ्याए। पहिले प्राधिकरणका प्रमुख बनाउँनै ढिला,केहि महिना काम थाल्यो फेरि सरकार परिबर्तन,फेरि नयाँ सरकार बने पछि प्राधिकरणका प्रमुख पनि परिबर्तन यसले गर्दा राष्ट्रिय पुननिर्माणमा समेत दलहरुले राजनीति गरे। यी बिबिध कारणले एनआरएन लगायत अन्य गैर सरकारी संघ संस्थाहरुको काम ढिला हुन पुग्यो अझ मुलत: सरकारको पुननिर्माण काम त शुन्य नै भयो।

डेनमार्कको कोपेनहेगनमा गैर आबासीय नेपाली संघको नवौ युरोपेली क्षेत्रीय बैठक हुँदा अध्यक्ष घलेलाई सार्बजनिक रुपमा नै यो पङ्तीकारको सिधा प्रश्न थियो,” भूकम्प पिडितका लागि घर निर्माणको प्रक्रिया कहाँ पुग्यो ? धुर्मुस सुन्तलीले भटाभट बस्ती बनाउँन मिल्ने, हामीलाई के ले रोकेको छ ? एनआरएनलाई गरेको सहयोग बारे दाताहरुले नै प्रश्न गर्न थालि सके” । तर माथिका सबै अबस्था एबम् देशको असाधारण परिस्थितिसँग जुधेर अहिलेको यो चरणसम्म आईपुग्नुलाई पनि हलुका रुपमा प्रस्तुत गर्नु सान्दर्भिक नहोला।

त्यसैले अब पङ्तीकारलाई मात्र हैन,जिज्ञासा राख्ने सबैलाई संघले जबाफ दिएको छ। “समय छ भने स्वदेश फर्क केहि साता भए पनि गुम्सिपाखाका लागि स्वयंसेवक बन वा तत्काल फर्कने बाताबरण छैन भने पनि ईच्छुक नेपाली संघ संस्था संगठन वा ब्यक्तिहरुलाई सहभागी बन्न अपिल गर। उच्च पहाडी क्षेत्रमा घरहरु बन्दैछन्,प्रत्येक घरको लागत निकै बढ्ने देखिन्छ त्यसैले सम्भव भए आँफै, नभए अरुलाई स्वयंसेवक बन्न प्रेरित गर्दै सहयोग गर।” साच्चिकै निकै दुर्गम र उच्च पहाडी क्षेत्रमा घर बनाउँने सबै भन्दा जटिल काम गर्ने आँट संघले लिएको हुँदा यसमा बृहत्तर रुपमा लाग्न जरुरी छ।

संघले घर निर्माणका लागि दक्ष जनशक्ति तथा सहयोगीको रुपमा (अर्धदक्ष वा अदक्ष) गरी दुई श्रेणीका स्वयंसेवकको खोजी गरेको भन्दै सूचना समेत जारी गरेको छ। न्यूनतम दुई साता लाप्राक बस्नु पर्ने तथा फिल्डमा जानु अघि अनिबार्य रुपमा तालिममा सहभागी लिनु पर्ने हुँदा आबेदनका लागि बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई संघले अपिल गरेको छ। सके सम्म आँफै पुग्ने वा तत्काल फर्कने सक्ने अबस्था नभए पनि बिभिन्न संघ सस्थाहरुलाई अनुरोध गर्दै स्वयंसेवक बन्न प्रेरित गर्नु प्रत्येक गैर आबासीय नेपालीको जिम्मेबारी हो। एउटा अभियानको हिस्सा बन्नका लागि कुनै न कुनै रुपमा सहयोग गर्ने एउटा अबसर पनि हो।

निर्माण सम्बन्धि ज्ञान नभएकाहरु सहयोगीको रुपमा तथा दक्ष जनशक्तिमा सिभिल ईन्जिनियर,ओभरसियर,सुपरभाईजर,पेन्टर,प्लम्बर,ईलेक्ट्रीसियन,सिकर्मी,डकर्मी,फलाम,बाँस तथा ढुंगाको काम गर्ने कामदार तथा घर भत्काउँने बिशेषज्ञहरु पनि स्वयंसेवकको रुपमा खाँचो रहेको संघले सूचनामा उल्लेख गरेको छ। तसर्थ यो सन्देशलाई कुनै कुनै रुपमा सम्पूर्ण नेपाली माँझ पुर्याउँने हाम्रो कर्तब्य हो। गैर आबासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको लाप्राक नमुना बस्ती निर्माणका लागि स्वयंसेवक आह्ववान सम्बन्धि सूचना अनुसार जनवरी ३१ तारिख भित्र ब्यक्ति तथा संस्थालाई आबेदन दिन अनुरोध गरिएको छ। स्वयंसेवक बन्नका लागि http://nrna.org.np/laprakvillage/volunteer-application-form/ यो लिङ्कमा गएर फाराम भरी आबेदनका दिनका लागि संघले आह्ववान गरेको छ। सबैको सहयोग र साथले गुम्सिपाखा छिट्टै उठ्न सकोस् हार्दिक शुभ-कामना।