संकटालाई १—० ले हराउदै मनाङ मस्र्याङदी क्लब फाइनलमा


पोखरा-संकटा क्लबलाई १—० ले हराउदै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लब पोखरामा जारी १५ औं आहा ! रारा गोल्डकपको फाईनल प्रवेश गरेको छ।

खेलको ८५ औं मिनेटमा ओलावालेले गरेको एक मात्र गोलनै निर्णायक बन्यो र मनाङ आहा ! रारा गोल्डकपमा नवौ पटक फाईनल यात्रा तय गर्न सफल भयो । विक्रम लामाले दिएको पासलाई विमल बस्नेतले हेड मार्फत पोष्टको दिशा दिए र सोहि बललाई ओलावालेले हेड गर्दै जारी चुमाए ।

खेलको ६२ औं मिनेटमा सुशिल केसी दोहोरो पहेलो कार्डसँगै रातो कार्ड खादै मैदानबाट वाहिरिएपछि संकटा १० खेलाडीमा सिमित भएको थियो । त्यसको प्रत्यक्ष फाइदा मनाङले उठायो । संकटा अन्तिम समयमा सम्हालिन नसक्दा संकट टार्नबाट चुक्यो र प्रतियोगिता बाहिरियो । आहा राराको इतिहासमा मनाङले संकटालाई हराएको यो तेस्रो पटक हो ।

यसअघि ८ पटक फाइनल पुगेर चार पटक उपाधि उचालेको मनाङ अघिल्लो बर्षको विजेता टिम हो । चार पटक उपाधि उचालेको मनाङ र एक पटक उपाधि उचालेको आयोजक सहारा क्लबबिचको उपाधिका लागि शनिवार प्रतिश्पर्धा हुनेछ ।