लाप्रांक एकीकृत बस्ती निर्माणमा सहभागी बन्न आह्ववान, क्यानडामा ९ हजार डलर संकलन


गैर आबासीय नेपाली संघले गोरखाको लाप्राकमा ६१२ घर सहितको एकीकृत बस्ती निर्माण कार्य सुरु गरिरहदा एनआरएन अभियन्ताहरु रकम संकलनका लागि पनि अघि सरेका छन्। बस्ती निर्माण कार्य तिब्र भईरहेका बेला अभियन्ताहरु गैर आबासीय नेपाली माँझ सहयोगको अपिलसँगै पुग्न थालेका हुन्। अभियानका लागि क्यानडाको नेपाली समुदायबाट लाप्रांकमा बन्दैं गरेको घर निमार्णका लागि ९ हजार क्यानेडियन डलर जम्मा भएको छ।

‘नेपालमा लगानी गरौं’ भन्ने नारा सहित क्यानडाको टोरन्टोमा आयोजित एक कार्यक्रमका बीच रकम संकलन भएको हो।कार्यक्रममा नेपालमा गर्न सकिने लगानीका सम्भावना बारे बृहत छलफल भएको थियो।कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले सम्बोधन गरेका थिए। उपाध्यक्ष पन्तले गैरआवासीय नेपाली संघले एकीकृत बस्ती निर्माण अभियानमा सहयोग गर्न क्यानडाको नेपाली समुदाय समक्ष आग्रह गरे।

‘हामीले व्यक्ति व्यक्तिको घर मात्र निर्माण गरिरहेका होइनौं। पूरै बस्ती विकास गरिरहेका छौं। त्यसमा विद्यालय तथा सामुदायिक स्वास्थ्य केन्द्रहरु समेत छन्।’ महाभूकम्पको केन्द्रविन्दू लाप्राकस्थित गुम्सी डाँडामा ६२६ रोपनी क्षेत्रफलमा संस्थाले एकीकृत बस्ती निर्माण गरिरहेको जानकारी दिँदै उनले भने, ‘हामीले व्यक्ति व्यक्तिको घर मात्र निर्माण गरिरहेका होइनौं। पूरै बस्ती विकास गरिरहेका छौं। त्यसमा विद्यालय तथा सामुदायिक स्वास्थ्य केन्द्रहरु समेत छन्।’

राष्ट्र पुनःनिर्माणको यो अभियानमा सघाउने वचन दिएकाहरुलाई उनले तत्काल रकम हस्तान्तरण गरी सहयोग गर्न आग्रह गरे। ‘राष्ट्रसेवाको यो एउटा अवसर हो। आर्थिक सहयोग नगरेका साथीहरुलाई म लाप्राक गएरै सहयोग गर्नुहुन आग्रह गर्दछु’, उनले भने। अध्यक्षको प्रत्यासीका रुपमा हेरिएका उपाध्यक्ष पन्तले नेपालको राजनीतिक प्रक्रियामा समेत गैरआवासीय नेपालीले मताधिकार पाउनुपर्ने माग गरे।

सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए युरोप क्षेत्रका संयोजक कुल आचार्यले गैरआवासीय नेपालीले नेपालमा लगानी गरिरहेका क्षेत्रबारे जानकारी दिएका छन्। होटल र हाइड्रो गैरआवासीय नेपालीका लागि उच्च सम्भावनाको क्षेत्र भएको उनको भनाइ थियो।

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एनअारएनए अाइसीसी सल्लाहकार नवराज गुरुङ, नेपाली जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धि ओली, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिंखडा कार्यक्रममा सहभागी थिए। एनआरएन क्यनडाका अध्यक्ष तुलसी सापकोटा, कार्यक्रम संयोजक तुला भट्टचनले मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेपाली जनसम्पर्क समिति नेता दीपक भट्टराई सहितका व्यक्तित्वको सहभागिता थियो।