स्कुल बस किन्न एनआरएनद्वारा १३ लाख रुपैयाँ सहयोग हस्तान्तरण


बसन्त रानाभाट,बार्सिलोना

बौद्दिक अपांगता तथा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ एनआरएनए अभियन्ताहरुले घोषणा गरेको प्रतिबद्दता रकम सोमबार एक कार्यक्रमका बीच हस्तान्तरण भएको छ। गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. शेष घलेले १३ लाख रुपैयाँ प्रतिबद्दता रकम हस्तान्तरण गरेका हुन्।

अपांगता भएका बालबालिकाहरुका लागि स्कुल बस किन्नका लागि गत जुलाईमा एनआरएनको नवौ युरोपेली क्षेत्रीय बैठकमा अभियन्ताहरुले सहयोग घोषणा गरेका थिए। संघका अध्यक्ष डा. घलेले हेटौडाली परिबारकी संस्थापक आईना बार्कालाई रकम हस्तान्तरण गरेका हुन्।

अध्यक्ष घलेले प्रतिबद्धता गरिएको रकम हस्तान्तरण गर्दै बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गरेका छन्।  स्पेनिस युवती बार्काले २५ बर्षको उमेरमा नै बौद्दिक अपांगता भएका बालबालिकाहरुलाई स्कुल खोलेर नेपाल र नेपालीका लागि ठुलो गुन लगाएको भन्दै अध्यक्ष घलेले प्रशंसा गरे। बालबालिकाहरुको लागि एनआरएनले यसरी एकमुष्ठ रुपमा सहयोग गर्न पाउँदा अध्यक्ष घलेले खुशी ब्यक्त गरे।

स्कुल बस किन्नको लागि अध्यक्ष घलेले ६ लाख रुपैयाँ,संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोबाट ३ लाख,उपाध्यक्ष द्वय  भवन भट्ट र  कुमार पन्तले एक -एक लाख रुपैयाँ सहयोग गरेका थिए। यस्तै  युरोप क्षेत्रीय संयोजक कुल आचार्यले १ लाख रुपैयाँ र राष्ट्रिय समन्वय परिषद् इटालीका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठले एक लाख रुपैयाँ सहयोग गरे।

स्पेनिस युवती बार्काले डेनमार्कको कोपेनहेगनमा सम्पन्न युरोपेली बैठकमा आँफूले संचालन गरेको परियोजनामा स्कुल बस किन्नका लागि १३ लाख रुपैयाँ अपुग रहेको भन्दै सहयोगको अपिल गरेकी थिईन्। उनको अपिल सँगै छिनमा नै सहयोगको प्रतिबद्दता जुटेको थियो। स्कुलमा बालवालिकाहरुलाई ल्याउँन र लैजान कठिन देखिए पछि बस किन्नको लागि सहयोग गर्न आईनाले अनुरोध गरेकी थिइन्।

रकम प्राप्त गरे पछि गैर आबासीय नेपाली संघ प्रति आभार प्रकट गर्दै आईनाले भनिन् ,”बौद्दिक अपांगता तथा मानसिक पक्षघात भएका बालबालिकाहरुको यो ठुलो सहयोग रकम हो, यसले झन् काम गर्ने हौसला मिलेको छ।” आईना सन् २०१२ को जुलाईमा पहिलो पटक नेपाल घुम्न निस्केकी थिईन्। त्यो समयमा उनि बार्सिलोना युनिभर्सिटिमा सामाजिक कार्यकर्ताको रुपमा काम गर्थिन्। तर नेपाल पुगे पछि सुस्त मनस्थिति भएका बालबालिकाहरुलाई आँफैले स्कुल खोलेर पढाउँने संकल्प बोकिन्।

स्पेनमा फ्यामिलिया दे हेटौडा र नेपालमा हेटौडाली परिबार नामक गैर सरकारी संस्थाको रुपमा दर्ता गर्दै उनले जनवरी २०१४ देखि आशा स्कुल संचालनमा ल्याएकी हुन्।हेटौडा नगर पालिका- ६ गौरीघाट मकवानपुरमा रहेको स्कुलमा हालमा २७ जना बौद्दिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन्।