अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पले लिए शपथ


अमेरिकी संसद बाहिर एक भव्य समारोहबीच अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ लिएपछि डोनल्ड ट्रम्पले देशमा परिवर्तन शुरु भएको घोषणा गरेका छन्।अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्यायाधीश जस्टीस रोबर्ट्सद्वारा शपथ दिलाइएपछि उनले देशवासीका नाममा संबोधन गरेका थिए।

आफ्नो लामो चुनावी अभियानमा जस्तै ट्रम्पले अमेरिकाको हितलाई केन्द्रमा राखेर आप्रवसन, व्यापार तथा कर संबन्धी निर्णयहरु गरिने बताए।उनले भने, “हामीले वाशिङटन डिसीबाट शक्ति तपाईं, जनतामा हस्तान्तरण गर्नेछौं र त्यो परिवर्तन आज, यहींबाट शुरु भएको छ।”

उनले भने, “ज्यानुअरी २०, २०१७ लाई जनता पुन: शासक भएको दिनको रुपमा संझना गरिनेछ। यो तपाईंको दिन हो, यो तपाईंको खुसियाली हो।”उनले काला, गोरा लगायत सबै जातजातिका अमेरिकीहरुलाई एकताकालागि अपील पनि गरेका थिए।

उनको शपथ ग्रहण समारोह हेर्न दशौं हजार समर्थक र विरोधीहरु भेला भएका थिए।एउटा विशाल सुरक्षा व्यवस्थाको भागका रुपमा हजारौं प्रहरी परिचालन गरिएको छ। भीड नियन्त्रण गर्न कैयौं किलोमिटर लामो छेकबार पनि हालिएको छ।

शपथ ग्रहण समारोहमा भूतपूर्व राष्ट्रपति जिम्मी कार्टर, भूतपूर्व राष्ट्रपति बील क्लिन्टन, उनकी धर्मपत्नी तथा चुनावमा ट्रम्पबाट पराजीत हिलरी क्लिन्टन तथा पूर्व राष्ट्रपति जर्ज बुश पनि उपस्थित थिए।

शुक्रबार बिहान ट्रम्पले वाशिङटन डिसीस्थित एक गिर्जाघरमा आयोजित प्रार्थना सभामा भाग लिएका थिए भने त्यसपछि आफ्नी पत्नीसंग ह्वाइटहाउसमा राष्ट्रपति ओबामा र श्रीमती ओबामासंग चिया पिएका थिए

त्यसपछि राष्ट्रपति ओबामाले ट्रम्पलाई आफुसंगै शपथ ग्रहण समारोहमा लिएर गएका थिए।शपथ ग्रहण समारोह शुरु हुँदै गर्दा आफ्नेा अनुहार छोपेका तथा कालो कपडा लगाएका ट्रम्प विरोधी प्रदर्शनकारीहरुले वाशिङटनका सडकहरुमा दौडिएका थिए।
केहीले पसल तथा मोटरहरुमा तोडफोड गरेका थिए।
प्रहरीले उनीहरुलाई तितरवितर पार्न ‘पिपर स्प्रे’ जस्तो देखिने पदार्थ प्रयोग गरेका थिए।

शपथ ग्रहणका दुई दिन सम्म ट्रम्पले मर्मोन टेबरनेकल, रेडियो सिटी रकेट्स, थ्रि डोर्स डाउन, जस्ता सांगीतिक समूह, प्रसिद्ध कलाकारहरु टोवी किथ र लि ग्रिनउड लगायतका कलाकारहरुको गीत, संगीत र नृत्यका प्रस्तुतिमा रमाउने तालिका बनाएका छन्।

विश्लेषकहरु भन्छन्, ट्रम्पले एउटा विभाजित अमेरिकाको नेतृत्व लिएका छन्।ट्रम्पले देशको अर्थतन्त्रलाई बलियो बनाउने आफ्नो प्राथमिकता हुने बताएपनि उनले अन्तर्राष्ट्रिय व्यापारमा संरक्षणवादी नीति अपनाउन सक्ने भनी चीन लगायत मुलुकहरुले चिन्ता व्यक्त गरेका छन्।-BBC Nepali