कास्की र स्याङजा जिल्लालाई जोड्न आधुनिक मोटरेवल पुल निर्माण हुने


राजाराम पौडेल,पोखरा- कास्की जिल्ला र स्याङजा जिल्लालाई जोड्ने चिसापानी ,सिगारेबास, टक्सार सडकमा पर्ने सुरौदी खोलामा छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाईको आधुनिक मोटरेवल पुल निर्माण हुने भएको छ । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रलायको आर्थिक एवम् सडक डिभिजन कार्यालय पोखराको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल दुई बर्षको अवधिमा सम्पन्न गरिने लक्ष्य रहेको छ ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले एक समारोहका बिच सो पुलको शिलान्यास गर्दै मुलुकको विकास निर्माण सबै एक जुट भएर लाग्नु पर्ने बताए ।मुलुकमा प्राविधिक जनशक्तिको अभावमा विकास निर्माणका काम अनुगमनलाई प्रभावकारी हुन नसकेको बताउँदै उनले थप दरवन्दी वा कन्ट्याक लिने वा सुविधा दिएर मौजुदा जनशक्तिलाई परिचालन गर्ने बिषयमा छलफल भईरहेको जानकारी दिए ।

उनका अनुसार रणनैतिक महत्वमा परेको चिसापानी सिगारेवास टक्सार ग्रामीण सडकलाई ३० करोडको लागतमा ७.५ मिटर चौढाई डवलल्याण्डको बनाउने कार्य प्रररम्भ गरिएको छ । पोखरा १७ र २३ निर्मलपोखरीलाई जोडने दोविल्लास्थित पार्दीखोलाको पुलको मर्मत र खोलाले कटान गरेको जोखिममा रहेको दोविल्लाको बस्ति संरक्षणको लागि दुई करोड ५० लाख बजेट बिनियोजन भईसकेको उनले बताए ।

सांसद राजु थापाले कास्की, स्याङजा र तनहुँ जिल्लाको विकास निर्माण र यस क्षेत्रका बासिन्दाको समृद्धिका लागि पुल कोसेढुंगा सावित हुने बताउँदै सुरौदी खोला कोरिडोरको अवधारणलाई अगाडि वढाउन पहल भई रहेको जानकारी दिए । डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर प्रकाश खत्रीले खोलाको बीच भागमा एउटा पिल्लर रहने आधुनिक पुर्वबलीत सो पुलबाट दोहोरो यातायातका साधन आवतजावत गर्न सुविधान पुग्ने जानकारी दिए ।
भगवती चौतारा दुलेडौडा थपिनीचौतारा ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष मानकाजी गुरुङको अध्यतामा भएको कार्यक्रममा भरतपोखरी गाविस र टक्सार गाविसका पूर्वअध्यक्ष यज्ञप्रसाद अधिकारी र कमान सिंह गुरुङ, समाजसेवी कृष्ण बहादुर गुरुङ निर्माण कम्पनिको तर्फबाट बल बहादुर राना लगायतले भनाइ राखेका थिए ।